अन्तरिम सरकारको नेतृत्वमा सुशीला कार्कीलाई सिफारिस गर्ने जेनजीको निर्णय सकारात्मक : डा भट्टराई

 संवाददाता    २०८२, २७ भाद्र शुक्रबार ०९:३४     208 जनाले पढ़िसके



Spread the love

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेसपा (नयाँ शक्ति)का अध्यक्ष डा बाबुराम भट्टराईले जेनजीले अन्तरिम सरकारको नेतृत्व गर्न पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई सिफारिस गर्नु अत्यन्त सकारात्मक रहेको बताएका छन् ।

एक वक्तव्य जारी गर्दै उनले भनेका छन्– ‘नयाँ नेपालको नेतृत्व गर्न उद्यत जेनजीका नवयुवाहरूले अन्तरिम सरकारको नेतृत्व गर्न पूर्वप्रधानन्यायाधीश तथा सक्षम र स्वच्छ व्यक्तित्व सुशीला कार्कीलाई सिफारिस गर्नु अत्यन्त सकारात्मक र सही छ। वहाँलाई सम्पूर्ण देशले सहयोग र समर्थन गर्नुपर्दछ ।’

‘वर्तमान संविधानको जगमा टेकेर संविधानका पालनकर्ता र संरक्षक राष्ट्रपतिले विधिवत् शपथ ग्रहण गराएर अहिलेको अन्योल र आशंका छिटो भन्दा छिटो अन्त्य गरिनुपर्नेमा पनि उनले जोड दिएका छन् । त्यसको उपयुक्त संविधानसम्मत र लोकतान्त्रिक विधि के हुनसक्छ संविधानविद्हरू र जानकारहरूको सल्लाहमा निर्णय गर्नु उपयुक्त हुने भट्टराईले बताए ।

543676024_1161370419169539_3748785101530204506_n

‘यस सन्दर्भमा २०६९ सालमा खिलराज रेग्मीलाई नियुक्त गरिएको नजिर भने कत्ति पनि मेल खाँदैन। त्यतिवेला विद्यमान अन्तरिम संविधान २०६३ मा ‘राजनीतिक सहमतिका आधारमा’ कतिपय निर्णय गर्न सकिने कुरा संविधानमै लेखिएको थियो र ‘राजनीतिक सहमति भन्नाले सात राजनीतिक दल र नेकपा माओवादीबिचको सहमति बुझ्नुपर्छ’ भनेर स्पष्टीकरण समेत त्यहीं राखिएको थियो ।’ डा भट्टराईले भनेका छन् ‘तर यो निर्वाचित संविधानसभाले बनाएको स्थायी संविधान हो र यसमा त्यस्तो कुनै प्रावधान छैन । यसबारे जेनजी ले धेरै संवेदनशील भएर सोच्नुपर्छ । ‘

अहिलेको आन्दोलन भन्दा पनि ठुलो वलिदानीपूर्ण आन्दोलनको बलमा संविधानसभाबाट बनेको नेपाली इतिहासको पहिलो संविधान हुनाले यसको जगमा टेकेर नै अघि बढ्नु जेन जी को दीर्घकालीन हितमा हुने उनको भनाइ छ ।