भ्रष्टाचार, बेथिति र अनियमितताविरुद्ध जेनजीले गरेको प्रदर्शनमा काठमाडौंमा प्रहरीले अश्रुग्यास हानेको छ।
बिहान ९ बजेदेखि माइतीघरबाट सुरु भएको प्रदर्शनमा बानेश्वरमा पुगेका प्रदर्शनकारीविरुद्ध प्रहरीले अश्रुग्यास हानेको हो।
जेनजीले आज देशैभर सरकारविरुद्ध प्रदर्शन गरेका छन्।
पछिल्लो समय सरकारले सामाजिक सञ्जालहरु नै बन्द गरेपछि जेनजी आक्रोशित थियो। उनीहरुले योसँगै भ्रष्टाचारविरुद्ध भन्दै सामाजिक सञ्जालबाटै विरोध प्रदर्शनको आयोजना गरेका हुन्।
सो क्रममा शान्तिपूर्ण रुपमा सुरु भएको प्रदर्शन बानेश्वरतिर अगाडि बढेको थियो।
सो क्रममा माइतीघरबाट गएको टोलीले बानेश्वरको प्रहरीको ब्यारिकेड तोडेर अघि बढेको थियो भने तीनकुनेबाट आएको टोली संसद भवनको गेट छेवैमा पुगेको थियो।
संसद् भवनतर्फ अघि बढ्नलागेपछि प्रहरीले अश्रुग्यास हानेको हो। संसद् भवनआसपासलाई सरकारले निषेधित क्षेत्र तोकेको छ।