झुम्का कारागारमा भाइरल ज्वरोका कारण थप एक कैदीको मृत्यु

 संवाददाता    २०८२, १९ भाद्र बिहीबार १४:११     233 जनाले पढ़िसके



Spread the love

झुम्का कारागारमा कैदीबन्दीबीच फैलिएको उच्च ज्वरो, श्वासप्रश्वासमा समस्या र बान्ता हुने जस्ता लक्षणका कारण थप एक कैदीको मृत्यु भएको छ।

मृत्यु हुनेमा जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका सप्तरी, राजविराज-८ का ४६ वर्षीय जलेश्वर यादव रहेका छन्।

बुधबार दिउँसो स्वास्थ्य अवस्था बिग्रिएर बेहोस भएपछि उनलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएको थियो। उपचारकै क्रममा साँझ उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

यसअघि सोमबार पनि दुई कैदीको मृत्यु भइसकेको थियो। मृत्यु हुनेमा सुनसरी गढी गाउँपालिका-६ का ४८ वर्षीय रामदेव उराँव र धरान-१० का २४ वर्षीय सागर राई रहेका थिए। उराँव कर्तव्य ज्यान मुद्दामा २५ वर्षको सजाय भोगिरहेका थिए भने राई लागुऔषध मुद्दामा पुर्पक्षका लागि थुनामा थिए।

उराँवलाई शनिबार राति श्वासप्रश्वासमा समस्या देखिएपछि बीपी प्रतिष्ठान लगिएको थियो। उपचारकै क्रममा सोमबार बिहान उनको मृत्यु भयो। त्यस्तै, राईलाई बान्ता हुने र शरीर नचल्ने समस्या आएपछि अस्पताल पुर्‍याइएको थियो। उपचारकै क्रममा सोमबार बिहानै उनको पनि ज्यान गयो।

चार दिनमै तीन कैदीको मृत्यु भएपछि जिल्ला सुरक्षा समिति सुनसरीले तत्काल कारागारमा स्वास्थ्य शिविर सञ्चालन सुरु गरेको छ। बुधबार रातिदेखि सञ्चालन भएको शिविरअन्तर्गत दुवै ब्लकका कैदीहरूको स्वास्थ्य परीक्षण भइरहेको सुनसरी प्रहरी प्रमुख एसपी सुमन तिमल्सिनाले जानकारी दिए।

उनका अनुसार बिहीबार बिहानसम्म ५५३ कैदीको स्वास्थ्य परीक्षण भइसकेको छ। रिपोर्ट आएपछि बिरामीको कारण स्पष्ट हुने उनले बताए। हाल झुम्का कारागारका ए र बी गरी दुई ब्लकमा १ हजार ७९४ जना कैदी रहेका छन्।