पूर्वमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का नेता सुदन किरातीले प्रधानमन्त्री केपी ओलीले लिपुलेकसँग सम्बन्धित विषयलाई अतिरञ्जित प्रचार गरेको बताएका छन् ।
प्रधानमन्त्री ओली हालै चीन भ्रमणको बेला नेपालको भूमि रहेको लिपुलेक मार्ग भएर सीमापार व्यापार गर्ने भारत र चीनबिच भएको सम्झौतालाई लिएर चीनका राष्ट्रपति सी चिन फिङसँग आपत्ति जनाएको विषयलाई एमाले नेताहरूले सामाजिक सञ्जालमा निकै प्रचार गरेका थिए । सोही विषयमा असन्तुष्टि जनाउँदै किरातीले ओलीलाई भगवान बनाउने गलत प्रयास भएको बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
‘तपाईको चीन भ्रमणसँगै लिपुलेकसँग सम्बन्धित विषयलाई अतिरञ्जित प्रचार मार्फत तपाईलाई भगवान बनाउने गलत प्रयास भएको थियो तर क्रमशः आइरहेको प्रतिक्रियाले कतै हाम्रो घाँटीमा हड्डी अड्किएको त होइन ? भन्ने भयङ्कर संशय पैदा भइरहेको छ । यदि त्यस्तो हो भने कूटनीति भन्ने विषय कुनै लहड, उक्साहट र भावनाको सीमाभित्र मात्रै सीमित हुँदैन रहेछ । बाँकी समयले पर्दा खोल्दै लैजाला’, उनले लेखेका छन् ।
‘प्रचार गरे जस्तै हो भने के अब चीन र भारतबिच भएको सहमति चीनले फिर्ता लिन्छ ?’ भनेर उनले प्रश्न उठाएका छन् ।
उनले साँच्चै राष्ट्रियता र लिपुलेकको सम्बन्धमा इमान्दर भए नेपालको चुच्चे नक्सा राखिएको पाठ्यक्रम अब विद्यालयको पाठ्यक्रममा समावेश गर्ने हिम्मत गर्नुहुन्छ भन्दै प्रश्न गरेका छन् ।
किरातीले चिनियाँ सरकारले भनेको सैन्य गठबन्धन जीएसआईलाई समर्थन गरेको कुरा संविधान विपरीत हो कि होइन भनेर समेत प्रश्न उठाएका छन् ।
