सर्लाही बलरा, बलरा नगरपालिकाले प्रभा मिडियाद्वारा सञ्चालित प्रभा 4K का पत्रकार राम मिश्रद्वारा गरिएको रिपोर्टिङलाई लिएर औपचारिक आपत्ति जनाएको छ।
नगर प्रमुख रामाशंकर प्रसाद कुशवाहाले मंगलबार जारी गरेको विज्ञप्तिमा पत्रकार मिश्रले २०८२ भदौ १६ गते सदरमुकाम मलंगवामा इलाका प्रशासन कार्यालय सम्बन्धी विषयमा आयोजित जुलुसको रिपोर्टिङ गर्ने क्रममा प्रयोग गरेका केही शब्दावली पत्रकारिता आचारसंहिता विपरीत रहेको उल्लेख गरिएको छ।
नगरपालिकाले पत्रकार मिश्रले प्रयोग गरेका “बलरा र रामनगर सुरक्षित छैन”, “त्यहाँका मानिसहरू बदमास, फटहा, डाकु हुन्” र “त्यहाँ इलाका प्रशासन हुँदा सेवाग्राही भारतको बसविट्टाबाट आउँछ” भन्ने अभिव्यक्ति तथ्यहीन, आपत्तिजनक र नगरवासीको सामाजिक प्रतिष्ठामा आँच पुर्याउने खालका रहेको ठहर गरेको छ।
नगर प्रमुख कुशवाहाले भने, “पत्रकारिता समाजको चौथो स्तम्भ हो। सामाजिक विकृति, विसंगति उजागर गर्नु पत्रकारको कर्तव्य हो, तर तथ्यविहीन शब्दावली प्रयोग गर्नु पत्रकारिताको धर्म र मर्यादाविपरीत हुन्छ।”
बलरा नगरपालिकाले सो किसिमको रिपोर्टिङले पत्रकारितामाथि आमजनताको विश्वासमा आघात पुर्याउने भन्दै मिश्रले बलरा तथा रामनगरवासीसँग सार्वजनिक रूपमा क्षमा याचना गर्नुपर्ने माग गरेको छ।
साथै, पत्रकारितामा शब्दावली वा सन्दर्भ अभाव भएमा थप अध्ययन, अनुसन्धान र आत्ममूल्यांकन गर्नुपर्ने उल्लेख गर्दै नगरपालिकाले भविष्यमा यस्ता घटना दोहोरिन नदिन सावधानी अपनाउन सम्बन्धित निकायलाई आग्रह गरेको छ।