सात वटै प्रदेशमा अटिजम स्कुल आवश्यक : स्वास्थ्यमन्त्री

 संवाददाता    २०८२, १८ भाद्र बुधबार १७:१८     120 जनाले पढ़िसके



Spread the love

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सात वटै प्रदेशमा अटिजम स्कुल आवश्यक रहेको बताएका छन् ।

मन्त्रालयमा बुधबार आयोजित अटिजमको उपचार, रोकथाम लगायतका सम्बन्धमा प्रा डा दीपकप्रकाश महराको संयोजकत्वमा गठित समितिले बुझाएको अध्ययन प्रतिवेदन ग्रहण गर्दै उनले बताएका हुन् ।

प्रारम्भिक चरणमा सबै प्रदेशमा एक/एक वटा अटिजम स्कुलको खाँचो औँल्याए । मन्त्रालयले यसलाई दीर्घकालीन परियोजना बनाएर काम गर्ने उनको भनाई छ ।

उनले काठमाडौँको बुढानीलकण्ठमा भने अटिजम स्कुल बन्न लागेको जानकारी दिए । बुढानीलकण्ठ–४ मा रहेको जग्गामा भवन बन्ने प्रक्रिया सुरु भइसकेको उनले बताए । अटिजम स्कुल सञ्चालनको लागि चालु आर्थिक वर्षमा ३ करोड रुपैयाँ बजेट छुट्याएको उनको भनाई छ ।

उनले अटिजम स्कुल सञ्चालनको लागि काठमाडाैँ महानगरपालिकाले पनि चासो देखाएकोले समन्वय गरेर अगाडी बढ्ने बताए ।

उनले भने, ‘खासगरि अहिले चाहीँ हामीले यो पटकको बजेटमा काठमाडौँमा एउटा अटिजम स्कुल बुढानीलकण्ठ वडा नम्बर ४ मा चाहीँ जग्गा छ, त्यहाँ भवन बन्ने प्रक्रिया सुरु भएको छ । यसको डिपिआर पनि हामीलाई उपलब्ध छ । त्यसमा हामीले बजेटमा नै ३ करोड रुपैयाँ, त्यो धेरै त होइन तर हामीले शीर्षक उल्लेख गरेको स्थिति छ । हामीले चाहिँ त्यसलाई रफ्तारमा अगाडी बढाउँदै छौँ र काठमाडौँमा अटिजम स्कुल हामीले बनाएर नै छाड्छौँ । त्यसमा चाहिँ काठमाडौँ महानगरपालिकाका मेयरले पनि त्यसमा चाहना राख्नुभएको छ । उहाँहरूसँग पनि समन्वय गरेर हामीले चाहिँ त्यसलाई अगाडी बढाउनेछौँ । र व्यवस्थित अटिजम स्कुल चाहीँ हामीले काठमाडौँमा पहिलो चरणमा निर्माण गर्नेछौँ र यो सातै प्रदेशमा कम्तीमा एक/एक वटा प्रारम्भिक चरणमा आवश्यक छ । यसलाई पनि हामी दीर्घकालीन परियोजनाको रूपमा अगाडी बढाउने कुरा चाहिँ यहाँहरूको बीचमा राख्न चाहन्छु ।’

उनले नेपालमा हालसम्म कति अटिजम भएका बालबालिका छन् भन्ने यकिन तथ्याङ्क नै नभएको बताए ।