भारतलाई बेच्ने तेल झनै सस्तो बनाउँदैछ रुस

 संवाददाता    २०८२, १८ भाद्र बुधबार १४:५०     295 जनाले पढ़िसके



Spread the love

रूसबाट किन्ने कच्चा तेलमा भारतले चाँडै नै थप छुट पाउने देखिएको छ । अमेरिकाले भारतबाट आउने सामानमाथि लगाएको अतिरिक्त भन्सार महसुल लगाएर भारतलाई दबाब दिइरहेकै समयमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यो राहत दिन लागेका हुन् । भारतले पहिला देखि नै रुससँग छुट मूल्यमा तेल किनिरहेको छ ।

मिडिया रिपोर्टहरूका अनुसार, रुसी बेञ्चमार्कको कच्चा तेल युरालको मूल्य अब ब्रेन्ट कच्चा तेलभन्दा प्रति ब्यारेल ३–४ डलर कम हुन सक्छ । यो छुट सेप्टेम्बरको अन्त्यमा र अक्टोबर महिनामा प्राप्त गर्न सकिने छ । गत हप्ता यो छुट प्रति ब्यारेल २ डलर ५० सेन्ट थियो र जुलाई महिनामा यो प्रति ब्यारेल १ डलर थियो ।

गत महिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि ५० प्रतिशत कर लगाएका थिए, जसमध्ये २५ प्रतिशत कर रुसबाट कच्चा तेल खरिद गर्न बन्द नगरेकै कारण लगाइएको थियो । भारतले रुसबाट कच्चा तेल खरिद गरेर युक्रेन युद्धलाई आर्थिक सहयोग गरिरहेको आरोप अमेरिकाले लगाएको थियो ।

करले भारतमाथि आर्थिक दबाब परेको छ, तर यदि रुसबाट कच्चा तेलमा थप छुट दिइयो भने निश्चित रूपमा भारतमाथि आर्थिक दबाब केही हदसम्म कम हुनेछ । मिडिया रिपोर्टका अनुसार सेप्टेम्बर महिनामा भारतले रुससँग अगस्ट महिनाको तुलनामा १०–२० प्रतिशत धेरै तेल किनेको थियो ।

भारतले रुससँग १ लाख ५० हजार देखि ३ लाख ब्यारेल अरू तेल किनेको थियो । थप छुटपछि यो आँकडा अरू बढ्न सक्नेछ ।