अनुमति बिनाका आफ्नो तस्बिर प्रयोग गर्ने ब्रान्डलाई सोनाक्षीको चेतावनी

 संवाददाता    २०८२, १८ भाद्र बुधबार १३:२५     165 जनाले पढ़िसके



Spread the love

अभिनेत्री सोनाक्षी सिन्हाले हालै केही ब्रान्डप्रति आक्रोश व्यक्त गरेकी छिन्। उनीहरूले अभिनेत्रीको अनुमतिबिना नै आफ्नो आधिकारिक वेबसाइटमा उनका तस्बिर प्रयोग गरिरहेको भन्दै उनले आपत्ति जनाएकी हुन्।

सोनाक्षीले आफ्ना तस्बिरहरू तत्काल हटाउन वा कारबाही भोग्न तयार रहन चेतावनी दिएकी छन्। इन्स्टाग्राममा एक पोस्ट लेख्दै सोनाक्षीले भनेकी छिन्, ‘म प्रायः अनलाइन सपिङ गर्छु र मैले केही ब्रान्डको वेबसाइटमा अनुमतिबिना नै मेरा तस्बिरहरू देखेकी छु। जब कुनै कलाकारले तपाईँहरूको पहिरन वा गहना लगाउँछ, तब तपाईंहरूले ब्रान्डको क्रेडिट दिँदै पोस्ट गर्नुहुन्छ। तर तिनै तस्बिरलाई तपाईंको आधिकारिक वेबसाइटमा राख्नु चाहिँ धेरै भयो।’

उनले अगाडि लेखेकी छिन्, ‘मेरो तस्बिरहरू हटाउनुहोस्, नत्र म सार्वजनिक रूपमा कारबाही गर्न थाल्छु। वा मलाई मेरो बिल कहाँ पठाउने हो, बताउनुहोस्। निर्णय तपाईंको।’

सोनाक्षीको यो पोस्टलाई अभिनेत्री तब्बूले पनि रि-पोस्ट गर्दै ‘धन्यवाद सोनाक्षी, मेरो पनि यही सोच छ’ भनेर लेखेकी छिन्। यसमा सोनाक्षीले जवाफ दिँदै ‘मलाई थाहा थियो कि यो सोच्ने म एक्लो छैन’ भनेर लेखेकी थिइन्।

सोनाक्षी सिन्हा यसै वर्ष जुलाईमा रिलिज भएको मिस्ट्री हरर फिल्म ‘निकिता रोय’ मा देखिएकी थिइन्। फिल्ममा उनीसँगै परेश रावल र अर्जुन रामपाल पनि मुख्य भूमिकामा थिए।