निर्माता तथा निर्देशक सन्तोष सेनले कलाकार दीपकराज गिरीको सोचमै पाप रहेको बताएका छन् । उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै यस्तो आरोप लगाएका हुन् ।
गिरीले सामाजिक सञ्जालमा विभिन्न कमेन्ट गर्न लगाएर लाखौँ दर्शकको भावनासँग खेलबाड गरेको आरोप सेनको छ । ‘दर्शककै मायाले तिमी आज यहाँसम्म आइपुगेका छौ । त्यसैले उनीहरूको भावनालाई कुल्चने अधिकार कसैलाई छैन’, सेन अगाडि भन्छन् ‘हाम्रो बलिदानको पोस्टमा आउने नकारात्मक कमेन्टहरू के तिम्रो समूहकै काम हो ?’
गिरीले नाम उल्लेख नगरी सेन प्रति लक्षित गर्दै आफ्नो सामाजिक सञ्जालमा एक स्ट्याटस पोस्ट गरेपछि सन्तोष रुष्ट बनेका हुन् । ‘आफ्नो फिल्मको प्रचार गर्नुको साटो अरूको फिल्मलाई गाली गर्न लगाउने काम बन्द गरौँ !’, गिरीले भनेका थिए ‘आफ्नो हिरो बाघ ! अरूको स्याल ? याद गरौँ बाघ पनि जनावर नै हो ! ।’