कपिल शर्मा शोमा कपिलकी श्रीमतीको भूमिकामा देखिएकी अभिनेत्री सुमोना चक्रवर्तीले मुम्बईको कोलाबामा आफूमाथि दुर्व्यवहार भएको खुलासा गरेकी छन् ।
उनले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत घटनाबारे जानकारी दिँदै प्रदर्शनकारीहरूको भीडले उनको गाडी रोकेर नारा लगाएको र अगाडि अनौठा क्रियाकलाप गरेको बताएकी छन् ।
सुमोनाका अनुसार, ‘घाँटीमा भगवा स्कार्फ बाँधेका एक व्यक्ति मेरो कारको बोनेटमा हिर्काउन थाले । उनले आफ्नो पेट कारमा थिच्दै अनौठो व्यवहार गर्दै थिए । उनका साथीहरू ‘जय महाराष्ट्र!’ भनेर चिच्याउँदै झ्यालमा हिर्काइरहेका थिए । पाँच मिनेटमै दुईपटक यस्तो भयो, तर नजिकै प्रहरी थिएनन् ।’
उनले मुम्बईजस्तो सहरमा पहिलोपटक दिनदहाडै आफ्नै कारभित्र असुरक्षित महसुस गरेको बताइन् । ‘यदि म एक्ली भएको भए के हुन्थ्यो भन्ने डर लाग्यो,’ उनले लेखिन् ।
सुमोनाले सडकको अस्तव्यस्त अवस्था, फोहोर, फुटपाथ कब्जा गर्दै प्रदर्शनकारीहरूले खाना पकाउनेदेखि व्यक्तिगत गतिविधि गर्ने गरेको भन्दै व्यवस्थाप्रति आक्रोश पनि पोखिन् ।
पोस्टको अन्त्यमा उनले लेखिन्, ‘हामीलाई यो भन्दा राम्रो शासन र नागरिक जिम्मेवारी चाहिन्छ । कर तिर्ने नागरिक र महिलाको हैसियतमा, म गहिरो रूपमा विचलित छु । हामी आफ्नै सहरमा सुरक्षित महसुस गर्ने हकदार छौँ ।’
क्याप्सनमा उनले भारतको वर्तमान अवस्थाप्रति असन्तोष प्रकट गर्दै लेखेकी छन्, ‘यो प्रगतिशील समाज होइन, बरु जातिवाद, धर्म, राजनीति, भ्रष्टाचार, निरक्षरता र बेरोजगारीले चलाएको अधोगति हो ।’