अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका व्यापार सल्लाहकार पिटर नवारोले प्रधानमन्त्री नरेन्द्र मोदी र भारतबारे नयाँ बयान दिएका छन् ।
फक्स न्यूजसँगको कुराकानीमा उनले भने, ‘मोदी एक महान नेता हुन्, तर मलाई थाहा छैन कि उनी विश्वको सबैभन्दा ठुलो लोकतन्त्रका नेता भए पनि पुटिन र सी जिनपिङसँग किन हात मिलाइरहेका छन् ?’
‘म भारतका जनतालाई यो मात्र भन्न चाहन्छु कि जे भइरहेको छ त्यसलाई बुझ । भारतीय जनताको मूल्यमाथि ब्राह्मण नाफा कमाइरहेका छन् । हामी चाहन्छौँ कि यो बन्द होस्,’ नवारोले थप भने ।
पिटर नवारोले यसअघि पनि रुसी तेल खरिद गरेको मामिलामा भारतमाथि आक्रमण गरिसकेका छन् । राष्ट्रपति ट्रम्पका नजिक मानिने नवारोले गत हप्ता ब्लूमबर्ग टिभीमा कुराकानीमा रुस–युक्रेन युद्धलाई मोदीको युद्ध भनेका थिए ।
अहिले अमेरिकाले भारतबाट आउने सामानमाथि भन्सारमा ५० प्रतिशत अतिरिक्त भन्सार महसुल लगाइरहेको छ ।
रुसी तेल खरिद बन्द गर्न नमानेपछि भारतमाथि यो कर लगाएको हो । रुसी तेल खरिद गरेर भारतले नाफा कमाइरहेको अनि युक्रेन युद्धको लागि रुसलाई आर्थिक रूपमा सहयोग गरिरहेको अमेरिकाको तर्क छ ।