कुलमान घिसिङ दक्षिण कोरिया जाँदै

 संवाददाता    २०८२, १६ भाद्र सोमबार ११:१६     128 जनाले पढ़िसके



Spread the love

नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ दक्षिण कोरिया जाने भएका छन् ।

‘उज्यालो संवाद’ अन्तर्गत भइरहेको अन्तर्राष्ट्रिय श्रृंखला अन्तर्गत उनले दक्षिण कोरियाको समेत भ्रमण गर्न लागेका हुन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको आमन्त्रणमा घिसिङले दक्षिण कोरियाको भ्रमण गर्ने तय भएको अध्यक्ष विपिन कुमार गुरुङले जानकारी दिए ।

उनका अनुसार सउलमा अक्टोबर ४ मा उज्यालो संवाद कार्यक्रम हुने र सोही अवसरमा “नेपालमा जलविद्युत तथा हाइड्रो क्षेत्रमा प्रवासी नेपालीहरूको लगानी : सम्भावना र चुनौती” शीर्षकमा हाइड्रो लगानी सम्मेलन पनि आयोजना हुँदैछ।

कार्यक्रममा कोरियाली लगानीकर्ता, व्यवसायी, प्राध्यापक, इन्जिनियर तथा नेपाली समुदायका प्रतिनिधिहरूलाई आमन्त्रण गर्ने तयारी भइरहेको गुरुङले जानकारी दिए। नेपाल विद्युत प्राधिकरणको नेतृत्व गर्दै घिसिङले उर्जा क्षेत्रमा देखाएको परिवर्तन प्रेरणादायी भएको र त्यसै सन्दर्भमा उनको अनुभव, नेपालमा जलविद्युत लगानीका सम्भावना, चुनौती र फाइदामाथि गहन छलफल हुने अपेक्षा गरिएको छ।

दक्षिण कोरियामा रहेका नेपाली समुदायले समेत हाइड्रो क्षेत्रमा कुनै न कुनै रूपमा जोडिन चाहेको र कोरियाली लगानीकर्ताहरू पनि नेपालको हाइड्रो क्षेत्रमा लगानी गर्न इच्छुक देखिएको संघका महासचिव अजय सोडारीले बताए । यसअघि घिसिङले गाडी मुलुकसहित अमेरिका र युरोपसम्मको भ्रमण सकिसकेका छन् । उनले राजनीतिमा आउने तयारीका साथ दौडधुप बढाएको समेत चर्चा छ ।