विधान महाधिवेशनअघि एमालेको केन्द्रीय कमिटी बैठक नबस्ने, सचिवालयमार्फत प्रतिवेदन अघि बढाउने

 संवाददाता    २०८२, १६ भाद्र सोमबार ११:१२     103 जनाले पढ़िसके



Spread the love

नेकपा एमालेको दोस्रो विधान महाधिवेशनअघि बस्ने भनिएको केन्द्रीय कमिटी बैठक नबस्ने भएको छ ।

गत भदौ १३ गतेलाई बोलाइएको केन्द्रीय कमिटी बैठक आवश्यक तयारी नपुगेको बहानामा अन्तिम समयमा स्थगित गरिएको थियो । १३ गतेको बैठक स्थगित गरेपछि भदौ १९ वा २० गते बिहान केन्द्रीय कमिटी बैठक बस्ने नेताहरूले बताएका थिए ।

भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा एमाले विधान महाधिवेशन हुँदैछ । महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको एमाले केन्द्रीय कार्यालयले जनाएको छ ।

केन्द्रीय कार्यालय सचिव डा.भीष्म अधिकारीका अनुसार महाधिवेशनमा प्रस्तुत हुने मुख्य तीन वटा प्रतिवेदन राजनीतिक, सांगठनिक र विधान संशोधन प्रस्ताव छपाइको काम भइरहेको छ ।

यस्तै निर्वाचन,अनुशासन,लेखा आयोग र सल्लाहकार परिषद्को प्रतिवेदन पनि छपाइकै क्रममा छ । अधिकारीका अनुसार महाधिवेशन प्रतिनिधि परिचय पत्र छपाइको काम सकिएको छ ।

आवश्यक तयारी पुरा हुने क्रममा रहेपनि भदौ १३ गतेलाई बोलाएर स्थगित गरिएको सो पार्टीको केन्द्रीय कमिटी बैठक अव नबस्ने निश्चित जस्तै भएको छ । केन्द्रीय कमिटी बैठकको साटो केन्द्रीय सचिवालय बैठक राख्ने एमालेको तयारी छ ।

अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिने चीन भ्रमणबाट १८ गते रातिमात्र फर्कने भएकाले केन्द्रीय कमिटी बैठक राख्न असम्भव भएको नेताहरूको भनाइ छ ।

‘भदौ १९ गते पार्टी केन्द्रीय सचिवालयको बैठक बसेर सबै प्रतिवेदनहरू महाधिवेशनमा पठाउने लगायत अन्य प्राविधिक विषयमा निर्णय हुनेछ’, महासचिव शङ्कर पोखरेलले निकटस्थ नेताहरूलाई भनेका छन् ।

यसअघि विद्या भण्डारी पक्षले फरक मत लैजाने तयारी गरेपछि १३ गतेको केन्द्रीय कमिटी बैठक स्थगित गरेको असन्तुष्ट समूहले आरोप लगाउँदै आएको छ ।

पार्टी स्थायी कमिटी सदस्य एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार महाधिवेशनका प्रतिनिधि र आयोजकको नाम र सङ्ख्या निश्चित गरिएको छ ।

‘दसौँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधि नै अहिलेको विधान महाधिवेशनका प्रतिनिधि हुन् । ती मध्ये कसैको मृत्यु भएको,कसैले पार्टी छोडेका र कसैलाई पार्टी कारबाही गरेकाहरूको सुची हटाइएको छ’, गौतमले भने, ‘तर रिक्त ठाउँमा नयाँ प्रतिनिधि छनौट गर्न पाइने व्यवस्था एमालेमा छैन ।’

दसौँ महाधिवेशनपछि मनोनीत भएका वा अन्य पार्टीबाट समायोजन भएर केन्द्रीय सदस्य भएकाहरूलाई पनि प्रतिनिधित्व गराउन नमिल्ने भएकोले उनीहरू आयोजकको हैसियतमामात्र विधान महाधिवेशनमा सहभागी हुनेछन् ।

महाधिवेशनमा २ हजार ३३ जना प्रतिनिधि र आयोजक कमिटीका तर्फबाट सहभागी हुने ३१७ सहित २ हजार ३ सय ५० जना सहभागी हुँदैछन् । विभिन्न कारणले दसौँ राष्ट्रिय महाधिवेशनका १२० जना महाधिवेशन प्रतिनिधि भने हटेका छन् ।

केन्द्रीय कार्यालयले सबै प्रतिनिधिहरूलाई एसएमएस मार्फत महाधिवेशनको निमन्त्रणा पठाइसकेको छ । केही प्रतिनिधिहरुको मोबाइल नम्बर अद्यावधिक नभएकोले सम्बन्धित जिल्ला कमिटीहरूलाई सबै प्रतिनिधिलाई जानकारी दिन केन्द्रीय कार्यालयले निर्देशन गरेको छ ।

पार्टीले विधान महाधिवेशनको मूल नाराको रूपमा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प,समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’तय गरेको छ ।

प्रमुख गौतमका अनुसार भदौ १८ गते प्रचार तथा प्रकाशन विभागका तर्फबाट पत्रकार सम्मेलन मार्फत महाधिवेशनको अन्तिम तयारीको जानकारी गराइने छ ।

परिचय पत्र अनलाइन मार्फत पनि लिन सकिने व्यवस्था गरिएको छ । डा.अधिकारीका अनुसार गोदावरी स्थित सनराइज हलमा छिर्नका लागि प्रतिनिधिहरुलाई चार वटा डिजिटल ढोकाको व्यवस्था गरिएको छ । ढोकामा आफ्नो परिचय पत्रमा रहेको क्युआर कोड स्क्यान गरेर मात्र प्रवेश गर्न पाइनेछ । खाना र खाजाका लागि हिजो नै एक ब्यांकेटलाई जिम्मा दिइएको छ ।

महाधिवेशनको तयारीका लागि हल सजाउने र मञ्च व्यवस्थापन गर्ने काम भइरहेको छ । विभिन्न जनवर्गीय सङ्गठन र स्थानीय कमिटीहरुले सातदोबाटो देखि गोदावरीसम्म स्वागत द्वार निर्माण र हँसिया हथौडा र सूर्य चिन्ह अङ्कित झन्डा राख्ने तयारी गरेका छन् । ललितपुर जिल्ला कमिटीले सडकमा झन्डा राख्ने काम गर्दै छ । यसै गरी भक्तपुर जिल्ला कमिटीले जडीबुटी देखि सूर्यविनायक सम्मका १० वटा आकासे पुलमा महाधिवेशनको नारा र लोगो अङ्कित ब्यानर र चोकचोकमा झन्डा राख्ने तयारी थालेको जिल्ला अध्यक्ष बचन देउजाले जानकारी दिनुभयो । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने महाधिवेशनको कार्यसूची तयार गर्न सोमबार महासचिव शङ्कर पोखरेलको उपस्थितिमा केन्द्रीय कार्यालयको बैठक बस्दै छ ।