रुपन्देहीमा राम्रो नतिजा ल्याउँछौँ, एक्लै लड्ने तयारी गर्नुहोस् : प्रचण्ड

 संवाददाता    २०८२, १५ भाद्र आईतवार १९:२२     326 जनाले पढ़िसके



Spread the love

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुपन्देहीमा एक्लै चुनाव लड्ने र त्यसमा राम्रो नतिजा ल्याउने बताएका छन् ।

आइतबार पार्टीको लुम्बिनी प्रदेशको सातौँ पूर्ण बैठक बुटवलको वेलबासमा सम्पन्न बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष प्रचण्डले रुपन्देहीमा एक्लै चुनाव लड्ने तयारी थाल्न नेताकार्यकर्तालाई निर्देशन दिए ।

अध्यक्ष प्रचण्डले भने– “पछिल्लो समय म विभिन्न कार्यक्रममा बाहिर जाँदा कांग्रेस एमालेका नेताहरूले मलाई भेट्दा यो परिवर्तन माओवादीले ल्याएको हो । त्यसको रक्षा पनि माओवादीले नै गर्नुपर्छ भन्नुभएको छ ।मैले यो कुरा मलाई किन भन्नुहुन्छ ? यो जनतालाई भन्नुहोस् न भन्ने गरेको छु । त्यसैले कमरेडहरू माओवादीले यो परिवर्तनको आन्दोलनमा खेलेको भूमिका कसैले नकार्न सक्दैन । बाहिर प्रचार प्रसार त हामीले गर्नुपर्‍यो नि, रुपन्देहीमा हामीले पहिला भन्दा राम्रो परिणाम ल्याउँछौँ, ल्याउँछौँ । एक्लै लड्ने हो, तपाईँहरू त्यसको तयारी गर्नुहोस् ।”

अध्यक्ष प्रचण्डले पार्टीभित्र देखिएको असन्तुष्टि र बहसलाई वर्गसंर्घषको स्वाभाविक स्वरूप भएको बताए । उनले ऐतिहासिक दृष्टान्त दिँदै भने, “असन्तुष्टि जहाँ गयो त्यही हुन्छ, विश्वको क्रान्तिकारी आन्दोलनमा पनि यस्तै देखिन्छ।”

उनले माओत्से तुङ, ल्यू साओची र लिनप्याओबीचको ऐतिहासिक सम्बन्धलाई उल्लेख गर्दै विश्वासघात र नेतृत्वप्रतिको आस्था परीक्षणको दृष्टान्त पार्टीका नेताकार्यकर्ताहरु समक्ष राखे ।

प्रचण्डले जनयुद्ध, शान्ति प्रक्रिया र गणतन्त्र स्थापनाको नेतृत्व इतिहासले आफूलाई सुम्पिएको उल्लेख गर्दै जनयुद्ध र परिवर्तनका आन्दोलनका अभिलेख व्यवस्थित गर्न माओवादी केन्द्रले अभियान नै सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए ।

“देशभरका वडाहरूबाट जनयुद्ध र जनआन्दोलनमा सहभागी, सहिद, घाइते र जेलनेल भोगेका जुनसुकै पक्षका व्यक्तिको विवरण तथ्याङ्क सङ्कलन गरेर केन्द्रमा पठाउनुपर्छ,” उहाँको भनाइ थियो।उहाँले जुनसुकै पार्टीका भए पनि गणतन्त्रमा योगदान दिने नागरिकलाई सम्मान गर्नुपर्ने र पार्टीले यसको स्पष्ट मापदण्ड तय गर्ने पनि जानकारी दिए ।

प्रचण्डले पार्टीप्रति जनताको भरोसा पुनः बढ्दो अवस्थामा रहेको उल्लेख गर्दै त्यसबाट डराएका “प्रतिक्रियावादी र बिचौलिया” समूहहरु माओवादी आन्दोलनविद्ध जोसुकै लागेको भएपनि विज्ञान र वर्गसंर्घषको नियमअनुसार माओवादी आन्दोलन अझ अघि बढ्ने उहाँले विश्वास व्यक्त गरे ।

बैठकमा अध्यक्ष प्रचण्डले पार्टी आन्दोलनबारे समीक्षा, सङ्गठन पुनर्गठन, नेतृत्व हस्तान्तरणको तयारी, जनताको भरोसाप्रति जिम्मेवारी र पार्टीको भविष्यका योजनाहरू राखेका छन् ।

बैठकमा प्रचण्डले समसामयिक राजनीति, पार्टीको आन्तरिक अवस्था र आगामी रणनीतिबारे धारणा राखे । परिवर्तनको जग माओवादीले राखेको र त्यसको रक्षा गर्ने शक्ति पनि माओवादी नै भएको उनले बताए ।