कालोमोसोको धम्कीपछि यातायात व्यवस्था विभागमा प्रहरी तैनाथ गरिएको छ ।
महँगो मूल्यमा अङ्ग्रेजी भाषामा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिएसँगै विरोध बढिरहेको वेला विभागमा आइतबार प्रहरी परिचालन गरिएको हो ।
इम्बोस्डको विरोधमा रहेको समूहले यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेललाई कालोमोसो दल्ने कार्यक्रम बनाएका थिए ।
साउन १२ गते बसेको विषयगत समितिको बैठकले असोज १ गतेदेखि इम्बोस्ड अनिवार्य गर्ने भनेसँगै केही दिनअघि यातायात व्यवस्था विभागले सूचना जारी गरेको थियो ।
यातायात व्यवस्था विभागका निर्देशक नरहरि तिवारीले प्रहरीले सुरक्षा दिएपनि अवस्था सामान्य रहेको बताए । ‘बजारमा विरोध र हल्ला भएपछि सुरक्षा दिनु स्वाभाविक नै हो, अरू अवस्था सामान्य छ,’ उनले भने ।