नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मासँग सम्बन्धित एउटा तस्बिर अहिले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षका नेता तथा कार्यकर्ताहरूले सामाजिक सञ्जालमा निकै जोडतोडले शेयर गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग बसेर खिचेको सामूहिक तस्बिर उनीहरूले क्रप गरेर केही दिनदेखि सामाजिक सञ्जाल, राजनीतिक ग्रुपमा शेयर गरेका हुन् ।
सामाजिक सञ्जालमा भाइरल भइरहेको उक्त तस्बिरमा डाइनिङ टेबलको बायाँतर्फ ओलीसँग बसेर शर्मा डिनर खाइरहेका देखिन्छन् । सोही रोहमा प्रधानमन्त्री ओली उनका धर्मपत्नी राधिका शाक्य, राजनीतिक सल्लाहकार विष्णु रिमाल बसेका छन् । दायाँतर्फ परराष्ट्रमन्त्री डा. आरजु राणा, कांग्रेस नेता तथा पूर्वपरराष्ट्रमन्त्री एनपी साउद, जनता समाजवादीका उपाध्यक्ष राजकिशोर यादव र पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा सँगै बसेका छन् ।
तर यो तस्बिर हालसालै प्रधानमन्त्री निवास बालुवाटार, कार्यालय सिंहदरबार वा कुनै रिसोर्ट वा कुनै नेताको घरमा खिचेको होइन । चैत १९ गतेदेखि २३ गतेसम्म थाइल्यान्डको राजधानी बैंककमा भएको बिमस्टेक बैठकमा प्रधानमन्त्री ओलीसहित विभिन्न राजनीतिक दलका नेताहरू भाग लिन गएका बेला खिचिएको तस्बिर हो ।
पार्टीभित्र पछिल्लो समय अध्यक्ष प्रचण्ड र शर्माबिच अन्तरसंघर्ष चर्किरहेको बेला राजनीतिक पूर्वाग्रह राखेर शर्माको तस्बिर शेयर गरेको प्रष्ट देखिन्छ । वास्तविकतालाई लुकाएर अतिरञ्जित गरी तस्बिर शेयर गर्नु उचित नभएको नेताहरूले बताएका छन् । एक नेता अनुसार विगतमा पार्टीलाई विभाजन गरेका, सांस्कृतिक विचलन भएका नेताहरूले वास्तविकतालाई लुकाएर भ्रम सिर्जना गर्न खोजिएको आरोप लगाए ।
‘थाइल्यान्डको बिमस्टेक बैठकमा भाग लिन गएका बेला विभिन्न दलका नेता सहभागी भएको बेला खिचिएको पुरानो तस्बिर वास्तविकतालाई लुकाएर भ्रम छर्ने उद्देश्यले गलत प्रचार गरिएको छ’, ती नेताले भने, ‘विगतमा पार्टीलाई विभाजन गर्ने, सांस्कृतिक विचलनमा परेकाहरूले यस्ता काम गरिरहेका छन् ।’
योङ्ग कम्युनिस्ट लिग(वाईसीएल)का पूर्वअध्यक्ष तथा माओवादीको केन्द्रीय सदस्य सुबोध शेर्पालीले फरक फरक अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुँदा प्रधानमन्त्री सहितको भ्रमण टोली र सांसदहरूको फरक टोलीबिच खाना खाने क्रममा लिएको तस्बिरलाई अतिरञ्जित गर्दा घाटा आफैलाई हुने बताएका छन् । सामाजिक सञ्जालमा उपमहासचिव शर्माको पुरानो स्ट्याटस र सामूहिक तस्बिर शेयर गर्दै उनले वास्तविकतालाई मोडेर अतिरञ्जित गरिएकोमा असन्तुष्टि पोखेका हुन् ।

‘केही महिनाअघि थाइल्यान्डमा सम्पन्न भएको फरक फरक अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुँदा प्रधानमन्त्री सहितको भ्रमण टोली र सांसदहरूको फरक टोलीबिच खाना खाने क्रममा लिएको तस्बिरलाई अतिरञ्जित गरेर घाटा अरू पार्टीलाई होइन हाम्रैलाई हुन्छ उक्त तस्बिरलाई लिएर अतिरञ्जित तर्क नगरौँ’, उनले भने ।
यस्तै नुवाकोटका नेता तथा केन्द्रीय सदस्य हिरानाथ खतिवडाले पनि पुराना तस्बिरलाई अतिरञ्जित गरिएकोमा असन्तुष्टि पोखेका छन् ।
_7OdO1hFTdu.jpg)
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘आलोचनाको पनि हद हुन्छ नि, देशको प्रम सहित गएको विदेशको एउटा कार्यक्रममा जहाँ अन्य दलका प्रतिनिधि समेत सहभागी छन् । यस फोटोलाई कटिङ गरी जनार्दन कमरेडमाथिको निराधार आरोप किम्मार्थ सह्य छैन । यो प्रवृत्ति पार्टीलाई कमजोर पार्ने कसैलाई खुसी पारेर जनतालाई निराश पार्ने अझ नव युवाहरूलाई पार्टीको ढोका सम्म पनि आउन नदिन तर्साउने ढोकाबन्दवादी प्रवृत्ति भन्दा अरू केही हुन सक्दैन ।’
खतिवडाले यस्ताखाले क्रियाकलापबाट कोही हौसिन जरुरी नभएको बताएका छन् । आवश्यकता या सन्दर्भमा जुन कुनै पार्टीका नेताले अरू पार्टीका नेताहरूसँग भेटघाट हुनु सामान्य पनि कुरा भएको भन्दै सत्य र तथ्यको आधारमा विषयलाई राख्न आग्रह गरेका छन् । विगतका पार्टी भित्रका अन्तरसंघर्षहरू पनि शत्रुतापूर्ण भएका कारण पार्टीले कत्रो क्षति व्यहोरी राखेको छ, के यसबाट हामीले पाठ सिक्न पर्दैन भनेर प्रश्न गरेका छन् ।