राजनीतिक दलहरूको मनस्थिति पूर्ण समानुपातिक निर्वाचनसम्म पुगेको छैन : मन्त्री गुरुङ

 संवाददाता    २०८२, १३ भाद्र शुक्रबार १३:०४     163 जनाले पढ़िसके



Spread the love

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकलाई पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा लैजान राजनीतिक दलहरूको मनस्थिति अहिलेसम्म नपुगेको बताएका छन्।

शुक्रबार आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा प्रकाशित पुस्तकहरूको लोकार्पण समारोहमा मन्तव्य दिँदै मन्त्री गुरुङले भने, ‘पूर्ण समानुपातिक प्रणालीमा जान सके मात्रै उपेक्षित समुदायलाई राज्य संयन्त्रसँग जोड्न सकिन्छ। यसले सबैभन्दा सस्तो प्रणाली हो र व्यक्तिले खर्च न्यून हुने हुँदा दलबिचको प्रतिस्पर्धा पनि कम हुन्छ।’

उनले संविधानले आदिवासी तथा अन्य पिछडिएका समुदायलाई दिएको अधिकार कार्यान्वयन गर्न जनमत सिर्जना गर्न आवश्यक रहेको बताए। मन्त्री गुरुङले पछिल्लो १० वर्षमा नेपालको वर्ग संरचना परिवर्तन भएको र त्यसअनुसार राजनीतिक र निर्वाचन प्रणालीमा सुधार गर्नु पर्ने आवश्यकता औँल्याए।

उनले आदिवासी, पिछडिएका र वञ्चित समुदायलाई राज्यको मूलधारमा ल्याउन संरचनागत रूपान्तरण आवश्यक रहेको उल्लेख गर्दै, एकात्मक शासन प्रणालीमा विविधतामा एकता सम्भव नदेखिएको कारण सङ्घीयता ल्याउनुपरेको पनि स्मरण गराए।