अछाममा महिनावारी भएपछि त्रिपालमा सुतेका एक महिला र बालिकाको ढुङ्गा खस्दा घटनास्थलमै मृत्यु भएको छ। यस्तै अर्की एक महिला घाइते भएकी छिन्।
शुक्रबार बिहान साढे पाँच बजे पञ्चदेवल विनायक नगरपालिका-८ सेलापानीस्थित चुरखोली टोल बस्ने ३६ वर्षकी रत्ना भण्डारी, उनकी छोरी वर्ष ७ की कविता भण्डारी सोही ठाउँकी ३५ वर्षकी निम खनाल घर नजिकै ५० मिटर टाढा खेतबारीमा त्रिपाल टाँगी सुतिरहेका थिए।
अविरल वर्षाका कारण भीरबाट खसेको ढुङ्गा लागि बालिका कविता भण्डारी र निम खनालको घटनास्थलमै मृत्यु भएको हो। रत्ना भण्डारीको टाउकोमा चोट लागेको छ। उनको अवस्था गम्भीर छ ।
उपचारको लागि रत्नालाई स्थानीय स्वास्थ्य चौकी बारला पठाइएको छ। त्यहाँबाट पनि रिफर गर्ने तयारी गरिएको छ।
उक्त स्थानमा अनुसन्धान तथा कानुनी प्रक्रियाको लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक टेक बहादुर देउवाको कमान्डमा एसओसीओ सहितको टोली घटनास्थलतर्फ खटिएको छ। त्यहाँ पुग्न दुई घण्टा पैदल हिँड्नुपर्ने अवस्था छ।
जिल्ला प्रहरी कार्यालय अछामका डीएसपी ओमप्रकाश खनालका अनुसार उनीहरू महिनावारी भएपछि त्रिपालमा बसेका थिए। ‘स्थानीयहरूसँग बुझ्दा महिनावारी भएपछि उनीहरू त्यहाँ बसेका रहेछन् भन्ने छ । थप विवरण प्रहरी टोली पुगेपछि थाहा हुनेछ,’ उनले भने।
मृतक महिलाका दुई छोरी र एक छोरी गरी तीन सन्तान छन्। उनका श्रीमान्को पनि एक वर्षअघि मृत्यु भएको थियो। आमाबुवा दुवैको मृत्युपछि उनीहरू टुहुरा बनेका छन्।
मृत्यु हुने बालिका घाइते भएकी महिलाकी छोरी हुन्। उनी आमासँग त्यहाँ सुत्न आएकी थिइन्।
‘यहाँतिर जति कार्यक्रम चलाए पनि फेरि छाउगोठ धमाधम बनेका छन्, महिनावारी बार्नु नै पर्छ भन्ने कठोर मान्यता छ । अस्ति भर्खरै मात्रै छिमेकी वडामा महिनावारी बारे कार्यक्रम गरेर आएको थियौँ, जति कार्यक्रम चलाए पनि यहाँका स्थानीयमा रहेको मनको अन्धविश्वास हटाउन चुनौती छ । महिनावारीकै कारण जोखिम मोलेर असुरक्षित ठाउँमा घरबाट टाढा बस्दा महिलाहरूले यसरी ज्यान गुमाउनु परेको छ,’ डिएसपी खनालले भने।