मेक्सिकोको सिनेटमा बुधबार हङ्गामा भयो । बहसमा चर्काचर्की भइरहँदा विपक्षी नेताले सिनेट अध्यक्षलाई समातेर धकेल्न थाले । सिनेटको कार्यवाही सकिएपछि सांसदहरूले राष्ट्रिय गान गाइरहेका बेला यो घटना भयो । सिनेटमा नेताहरूले आफ्नो कुर्सी छोडेर एक अर्कालाई मुक्का हान्न थालेको प्रत्यक्ष प्रसारणबाट सारा विश्वले देख्यो । यो दृश्य स्तब्धकारी अनि लज्जास्पद थियो ।
विपक्षी इन्ष्टिच्यूशनल रिभोलुशनरी पार्टी (पीआरआई)का नेता अलेजान्ड्रो अलिटो मोरेनोले सत्तारुढ मोरेना पार्टीका सिनेट अध्यक्ष गेरार्डाे फर्नान्डेज नोरोनामाथि आक्रमण गरे । मोरेनो बारम्बार ‘मलाई बोल्न देऊ’ भन्दै थिए ।
उनले नोरोनाको हात समाते । नोरोनाले ‘मलाई नछोउ’ भने । तर कुरा यहीँ रोकिएन । दुई बीच धक्का मुक्की सुरु भयो । नोरोनाका एक सहयोगीले दुई जनालाई छुट्याउन आए । तर मोरेनोले उनलाई पनि हानेर भुँइमा लडाइदिए ।
एउटा छलफलपछि यो हङ्गामा सुरु भएको थियो । मेक्सिकोमा विदेशी सशस्त्र सेनाको उपस्थिति बारेको छलफल चर्काचर्कीसम्म पुग्गेको हो । ‘मोरेनोले मलाई उक्साउन सुरु गरेका हुन्, उनले मलाई छोए अनि मलाई ताने पनि’ झगडापछि पत्रकार सम्मेलनमा बोल्ने क्रममा नोरोनाले भने ।
आफूलाई हातमा हिर्काइएको भन्दै उनले मोरेनोले ‘म तँलाई मारिदिन्छु’ सम्म भने । नोरोनाले अति गरेको अनि के गरिरहेको छु भन्ने कुरा आफूलाई थाहा भएको झगडापछि सामाजिक सञ्जालमा एउटा पोस्टमा मोरेनोले लेखेका थिए ।