हैजाको प्रकोप बढ्दो, २४ घण्टामा ११५ नयाँ संक्रमित

 संवाददाता    २०८२, १२ भाद्र बिहीबार १४:५२     264 जनाले पढ़िसके



Spread the love

मधेश प्रदेशमा हैजाको प्रकोप फैलिरहेको छ । गएको २४ घण्टामा ११५ जना नयाँ सङ्क्रमित थपिएको पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । प्रकोप सुरु भएदेखि सङ्क्रमितको सङ्ख्या ५४० पुगेको छ ।

स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार २ सय ५७ जना व्यक्ति पूर्ण रूपमा निको भइसकेका छन् भने २ सय ८३ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

वीरगन्ज महानगरपालिका अझै पनि हैजाको प्रकोप फैलिरहेको छ । नारायणी अस्पतालमा १५८ सक्रिय सङ्क्रमितको उपचार भइरहेको छ भने पछिल्लो २४ घण्टामा ६२ जना नयाँ बिरामी भर्ना भएका छन् ।

अन्य अस्पतालहरूमा तराई अस्पतालमा ४२ सक्रिय, १० नयाँ सङ्क्रमित र वीरगन्ज हेल्थ केयर अस्पतालमा २४ सक्रिय, ८ नयाँ सङ्क्रमित बिरामीको उपचार भइरहेको स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

यस्तै, बाराको कलैया अस्पतालले हैजाको एक नयाँ केस पुष्टि भएको जनाएको छ । जसको बिरामीको वीरगन्ज यात्राको इतिहास थियो । साथै, पर्साको पोखरिया नगरपालिकास्थित अस्पतालमा ८ नयाँ केस दर्ता भएको छ ।