हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ। साथै, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेको देखिन्छ ।
कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका बाँकी पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ। बागमती प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
आज बिहानको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको बहाव सतर्कता तह भन्दा तल रहेको र महाकाली नदीको बहाव सतर्कता तह आसपास रहेको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
आइतबार सिन्धुपाल्चोक, रसुवा, धादिङ, लमजुङ र आसपासका जिल्ला भई बहने स-साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहने पूर्वानुमान छ।
साथै नुवाकोट, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङ, मुगु, जुम्ला, सुर्खेत, दैलेख, बैतडी, डडेलधुरा र आसपासका जिल्ला भई बहने केही स-साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना रहने पूर्वानुमान छ।

