काठमाडौं । ब्याक्टेरियामार्फत माटोको उर्बराशक्ति बढाउने मलको नयाँ प्रविधि भित्राउन संयुक्त अरब इमिरेट्स (यूएई)स्थित कम्पनी युटेरा मिडल इस्ट र नेपालको भूमिराज एग्रो फर्टिलाइजर प्रा.लि.बीच सम्झौता भएको छ ।
नेपालमा सधैं खेती लगाउने बेलामा रासायनिक मलको अभाव खेप्दै आएका किसानहरुलाई राहतसँगै थप उब्जनी दिनसक्ने युटेरा ब्राण्डको रसियन प्रविधिको मल (वायो फर्टिलाइजर) कच्चा पदार्थसँगै प्रविधि ल्याउन यो सम्झौता भएको हो । सम्झौतापत्रमा भूमिराज एग्रोका सञ्चालक जीवन घिमिरे र युटेरा मिडल इस्टका सीईओ माइक्टा ओस्टापेङ्कोले हस्ताक्षर गरे ।
नेपालमा नवीन यातायात पोडवे भित्र्याउन लागिपरेको काठमाडौं पोडवेले यो सम्झौतामा संयोजनकारी भुमिका खेलेको हो।
रसियन बैज्ञानिक एनाटोली युनिस्कीले २० बर्षभन्दा लामो अध्ययन अनुसन्धान र परीक्षणपछि विकास गरेको किरा (ब्याक्टेरिया)मा आधारित यो प्रविधि (फर्मुला) यसअघि रुसमा मात्रै नभएर युरोपेली मुलुकहरुमा समेत सफल प्रयोग र प्रमाणित भइसकेको प्रविधि हो ।
यस्तो प्रविधि विश्वमै एक मात्रै हो । पूर्णरुपमा प्राङ्गारिक युटेरा मल प्रयोग गर्दा रासायनिक मल प्रयोग भएको अन्नबाली, फलफूल र तरकारीभन्दा ४० प्रतिशत बढी फल दिने र लागत रासायनिक मलमा भन्दा कम हुने, किसानहरुलाई प्रयोग गर्न पनि सहज हुने, वातावरणीय संरक्षण, मानव तथा पशुपंक्षीको स्वास्थ्यमा पनि कुनै हानी नगर्ने, स्वाद पनि रासायनिम मल प्रयोग भएको उत्पादनको भन्दा स्वादिलो हुने भएकाले नेपालमा पनि यो प्रविधि सफल र लोकप्रिय हुने विश्वास भूमिराज एग्रोको छ ।
सम्झौताअनुसार प्रारम्भिकरुपमा एक महिनाभित्र देशको हिमाल, पहाड र तराईका विभिन्न स्थानको माटोमा यस मलको प्रयोग गरिने छ र तीन महिनाभित्र व्यवसायिक उत्पादन र बिक्री सुरु गरिने छ । त्यसका लागि लागि केही रसियन प्राविधिकहरु नेपाल आउने जनाइएको छ ।
भूमिराज एग्रोले युटेरा मल उत्पादनका लागि नेपालमै ४० करोड लगानीमा प्लान्ट स्थापना गर्नेछ । उक्त प्लान्टबाट उत्पादन हुने ब्याक्टेरिया बालीमा प्रयोग गर्दा बालीका लागि आवश्यक सबै तत्वहरु आफै विकास गर्दै माटोको उर्बरा शक्तिलाई पनि जोगाउने र किसानलाई पनि थप उत्पादन दिनेछ ।
भूमिराज कोशी प्रदेशमा मन्त्रीसमेत भइसकेका जीवन घिमिरेको नेतृत्वमा कृषि क्षेत्रमा रुपान्तरणको लागि स्थापना भएको कम्पनी हो । घिमिरेले युटेरा प्रविधि नयाँ भए पनि कृषि क्षेत्रमा क्रान्ति ल्याउनसक्ने प्रविधि भएको बताउँदै नेपालमा पनि यस किसिमको मल प्रयोगबाट कृषिमा नेपाललाई आत्मनिर्भर बनाउन र किसानहरुको जीवनस्तर उकास्त कोषेढुंगाा हुनसक्ने बताए ।