काठमाडौं–हेटौँडा हुँदै वीरगन्जसम्म ९७ किलोमिटर लामो पोडवे यातायात निर्माण गर्न प्रस्ताव पेस

 संवाददाता    २०८२, ६ भाद्र शुक्रबार १६:२६     457 जनाले पढ़िसके



Spread the love
काठमाडौं पोडवे कम्पनी प्रा.लि.ले काठमाडौं–हेटौँडा हुँदै वीरगन्जसम्म ९७ किलोमिटर लामो पोडवे यातायात निर्माण गर्न प्रस्ताव पेस गरेको छ। करिब ७१ अर्ब रुपैयाँ लागत लाग्ने उक्त प्रस्ताव हालै लगानी बोर्डमा दर्ता गरिएको हो।
लगानी बोर्डका प्रवक्ता एवं सहसचिव प्रध्युम्नप्रसाद उपाध्यायका अनुसार कम्पनीले गत हप्ता प्रारम्भिक प्रस्ताव पेस गरेको हो। बुधबार कम्पनीका सञ्चालकहरूले पोडवेको सम्भावना र लगानीबारे बोर्डमा विस्तृत प्रस्तुति दिएका छन्।
कम्पनीले हेटौँडादेखि काठमाडौंसम्म पुरानो रोपवेको लाइन प्रयोग गर्ने र हेटौँडा–वीरगन्ज खण्डमा नयाँ मार्ग निर्माण गर्ने योजना प्रस्तुत गरेको छ। प्रारम्भिक अध्ययनअनुसार उक्त पोडवेको सम्भाव्यता मूल्यांकन गर्न करिब दुई वर्ष लाग्ने बताइएको छ।
सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत पोडवे जस्ता वैकल्पिक यातायात प्रविधि विकास गर्ने नीति अघि सारेको छ। अनुमतिपछि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरेर परियोजना अघि बढाइनेछ।
विद्युतमा आधारित पोडवे सार्वजनिक यातायातको नयाँ विकल्पका रूपमा प्रस्तुत गरिएको छ। एकपटकमा ४२ जना यात्रु क्षमता भएको पोडले प्रतिघण्टा १५० किमि वेगमा यात्रा गराउन सक्ने बताइएको छ। यो प्रविधि भारत, बेलारुस र युएईमा प्रयोग भइसकेको छ।
विशेषज्ञहरूको दाबी छ—नेपालमा पोडवे सञ्चालन भए सार्वजनिक यातायातमा नयाँ क्रान्ति हुने र पेट्रोलियम पदार्थमा निर्भरता कम हुनेछ।