वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी

 संवाददाता    २०८२, ६ भाद्र शुक्रबार १३:३७     217 जनाले पढ़िसके



Spread the love

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा टोखा नगरपालिका-३ बस्ने प्युठान, प्युठान नगरपालिका-८ घर भएका ३९ वर्षीय शान्त बहादुर विक, काठमाडौँ महानगरपालिका-३२ बस्ने काभ्रे भुम्लु गाउँपालिका-१ घर भएका २६ वर्षीय प्रल्हाद खत्री, काभ्रे बनेपा नगरपालिका-८ बस्ने सिराहा कर्जन्हा नगरपालिका-८ घर भएका ४४ वर्षीय महमद हातीम र काठमाडौँ बूढानीलकण्ठ नगरपालिका-२ बस्ने खोटाङ हलेसी तुवाचुङ नगरपालिका-४ घर भएका ४६ वर्षीय तारा बस्नेत तामाङ रहेका छन् ।

पक्राउ मध्ये शान्त बहादुरले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख रुपैयाँ, प्रल्हादले कतार पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ७ लाख रुपैयाँ, महमदले कतार पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रुपैयाँ र ताराले दक्षिण अफ्रिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख १७ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले शान्त बहादुरलाई काठमाडौँ महानगरपालिका-२९ बाट, प्रल्हादलाई काठमाडौँ महानगरपालिका-२६ बाट र महमदलाई काभ्रे बनेपा नगरपालिका-७ बाट बुधबार तथा तारालाई बूढानीलकण्ठ नगरपालिका-२ बाट बिहीबार पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।