इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले अष्ट्रेलियाली समकक्षी एन्थोनी अल्बानेजले धोका दिएकाे आरोप लगाएका छन् । दुई देशबिच तनाव चर्किँदै गइरहेको समयमा नेतन्याहुको यो अभिव्यक्ति आएको हो ।
इतिहासले एन्थोनी अल्बानेजलाई एक कमजोर राजनीतिज्ञका रूपमा सम्झने मंगलबार नेतन्याहुले भनेका थिए । अष्ट्रेलियाले त्यहाँको यहुदी समुदायलाई बेवास्ता गरेको पनि उनको भनाइ छ ।
सोमबार नेतन्याहुको सत्तारुढ गठबन्धनका एक कट्टर दक्षिणपन्थी सदस्यलाई अष्ट्रेलियाले आफ्नो देशभित्र छिर्नबाट रोक लगाएका थिए । यसको प्रतिकारमा इजरायलले पनि प्यालेष्टाइन प्राधिकरणमा रहेका अष्ट्रेलियाली प्रतिनिधिहरूको भिसा खारेज गरिदियो ।
हालै बेलायत, फ्रान्स र क्यानडाको कदमलाई पछ्याउँदै अष्ट्रेलियाले प्यालेष्टाइनलाई राज्यको मान्यता दिने घोषणा गरेको थियो । नेतन्याहुले यही निर्णयको विरोधमा ती आरोप लगाएको अष्ट्रेलियाका अध्यागमन मन्त्री टोनी बुर्केले भनेका छन् ।