पाकिस्तानको कराँची सहरमा वर्षासँग सम्बन्धित दुर्घटनामा कम्तीमा ८ जनाको मृत्यु भएको छ । सर्जन डा.सामिया सैयदका अनुसार पर्खाल भत्किएर थिचिँदा, बिजुलीको झट्का लागेर अनि नालीमा खसेर यी व्यक्तिहरूको मृत्यु भएको हो ।
मंगलबार भारी वर्षा भएपछि सिन्ध सरकारले बुधबार कराँचीमा बिदा घोषणा गरेको छ । पाकिस्तानको मौसम विभागले बुधबार पनि भारी वर्षा हुने चेतावनी दिएको छ ।
रातमा पानी निकासको कामको अनुगमन गर्न गस्ती गरिएको मुख्यमन्त्री मुराद अली शाह र कराँचीका मेयर मुर्तजा वहाबले बताए । मुसलधारे वर्षा भएपछि मालिर नदीमा पानीको तीव्र बहावका कारण कोरंगी कजवे बन्द गरिएको बताइएको छ ।
पाकिस्तानको मौसम विभागका अनुसार अरब सागर र बङ्गालको खाडीबाट मनसुन हावा देशका अधिकांश भागहरूमा, विशेष गरी दक्षिणी क्षेत्रहरूमा लगातार प्रवेश गरिरहेको छ ।
यसका कारण सिन्ध र बलुचिस्तानमा आगामी दुई दिन भारी वर्षा हुने र बाढी आउने सम्भावना रहेको बताइएको छ । मौसम विभागका अनुसार सिन्ध, कराँची, हैदरावाद, मिठी, थारपारकर, उमरकोट, मिरपुरखासलगायत धेरै क्षेत्रमा तीव्र हावा र मेघ गर्जनसहित वर्षा र मुसलधारे वर्षा हुने अनुमान छ ।