गौर हत्याकाण्डमा परमादेशसँगै जसपा नेपालद्वारा कानुनविद्‍सँग परामर्श, पूर्णपाठ पर्खिने

 संवाददाता    २०८२, ४ भाद्र बुधबार १२:२७     256 जनाले पढ़िसके



Spread the love

सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवलगायतविरुद्ध रौतहटको गौर हत्याकाण्डको विषयमा अनुसन्धान अघि बढाउन भन्दै परमादेश जारी गरेसँगै त्यसबारेमा सो पार्टीले कानुनविद्‍सँग छलफल गरेको छ ।

जसपा नेपालले सोमबार परमादेश जारी भएलगत्तै केही कानुनविद्हरूलाई राखेर छलफल गरेको हो । छलफलमा कतिपय वकिलले यो गम्भीर विषय भएकाले यसलाई पार्टीले गम्भीर रूपमा लिनुपर्ने धारणा राखेको पार्टीका एक नेताले बताए ।

कतिपयले भने विगतमा विभिन्न आधिकारिक निकायले अध्ययन अनुसन्धान गरिसकेर प्रतिवेदन बुझाई सकेकाले थप अनुसन्धानको आवश्यकता नपर्ने सुझाव दिएको बताइएको छ । पार्टी कुनै एक्सनमा जानुभन्दा पहिले सर्वोच्च अदालतले जारी गरेको परमादेशको पूर्णपाठको प्रतीक्षा गर्नुपर्ने सुझाव पनि आएको बताइएको छ ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि आफूहरू परमादेशको पूर्णपाठको प्रतीक्षामा रहेको बताए । पूर्णपाठ अध्ययन गरिसकेपछि मात्र पार्टीले कसरी अगाडि बढ्छ भनी निर्णय लिने उनले बताए ।

‘अदालतले गरेको निर्णयलाई हामीले स्वीकार गर्छौ तर गरेको निर्णयमा के छ त्यो हेर्छौ अनि मात्र थप प्रतिक्रिया दिन्छौँ,’ उनले भने, ‘गौर घटनाको १९ वर्ष भइसक्यो, यसमा धेरै अध्ययन अनुसन्धान भइसकेको छ, कतिपयले सरकारलाई प्रतिवेदन पनि बुझाई सकेको छ तैपनि अदालतले यस्तो परमादेश गरेको छ, हामी त्यो परमादेशको पूर्ण पाठको प्रतीक्षामा छौँ ।’

जसपा नेपालका प्रवक्ता मनिष मिश्रले छलफलले सरकार आफ्नो पार्टीप्रति पूर्वाग्रही रहेको निष्कर्ष निकालेको बताए । ‘सर्वोच्च अदालतमा एक वर्षदेखि यो मुद्दा विचाराधीन थियो, तर त्यो अवधिमा एकपटक पनि जसपा नेपालसँग कुनै सोधखोज गरेन’, उनले भने, ‘मुद्दा छ भन्ने जानकारी समेत गराइएन । एकाएक आदेश नै आएपछि यसमा राज्यको नियत ठिक नदेखिएको हाम्रो ठहर छ ।’

जसपा नेपाललाई मात्र नभई यसमा मुछिएका १३० जनामध्ये कसैलाई पनि मुद्दाको बारेमा जानकारी नगराएको उनको दाबी छ । प्रवक्ता सुमनले सरकारी तथा गैरसरकारी गरी विभिन्न सात वटा सङ्घ संस्थाले गौर घटनाको बारेमा अध्ययन गरेको बताए । यसबारे सरकारलाई निष्कर्षसहितको प्रतिवेदन बुझाइ सक्दा पनि अदालतबाट यस्तो निर्णय आएको उनले टिप्पणी गरे ।

परमादेश नै जारी भइसकेपछि आफूहरू अब परमादेशको पूर्णपाठको प्रतीक्षामा रहेको उनले बताए ।