सिसडोल–बञ्चरेडाँडा ल्याण्डफिल साइटको विकल्पको अध्ययन गर्दैछौँ : उपप्रधानमन्त्री सिंह

 संवाददाता    २०८२, ३ भाद्र मंगलवार १६:२५     137 जनाले पढ़िसके



Spread the love

उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौँ उपत्यकाको दीर्घकालीन फोहोर व्यवस्थापनका लागि बञ्चरेडाँडामा आवश्यक पूर्वाधार निर्माण कार्य भइरहेको बताएका छन् ।

राष्ट्रिय सभाको मंगलवारको बैठकमा मन्त्रालयसँग सम्बन्धी मौखिक प्रश्नको जवाफ दिँदै उनले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनको लागि निर्माण गरिएको सेनेटरी ल्याण्डफिल साइटसहितको पूर्वाधार कार्य महानगरलाई हस्तान्तरण गरिएको समेत बताएका हुन् ।

उनका अनुसार सहरी विकास तथा भवन निर्माण विभागमार्फत करिब ४० मिटर उचाइको बारमध्ये हाल २५ मिटर उचाइको बारसहित सम्पूर्ण भौतिक संरचना निर्माण कार्य पूरा भई सञ्चालनको लागि महानगरलाई उपलब्ध गराइएको छ । त्यसको उचाइ बढाउन खरिद प्रक्रिया अगाडि बढेको उनको भनाइ छ ।

मन्त्री सिंहले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनका लागि प्रयोगमा रहेका सिसडोल र बञ्चरेडाँडा स्यानेटरी ल्याण्डफिल साइटका विकल्पको अध्ययन गर्ने, सिसडोल क्षेत्रमा देखिएका समस्या समाधान गर्ने र स्थानीय माग सम्बोधन गर्नेतर्फ मन्त्रालय निरन्तर सक्रिय रहेको दाबी गरे । उनले बञ्चरेडाँडामा फोहोर व्यवस्थापनलाई वैज्ञानिक ढङ्गले अघि बढाउन महानगरपालिकासँग सहकार्य भइरहेको समेत बताए ।

उनले भने, बञ्चरेडाँडामा काठमाडौँमा महानगरको फोहोर व्यवस्थित ढङ्गले विसर्जन गर्ने फोहोरबाट उत्पन्न ब्याक्टेरियाको नियन्त्रण गर्ने, कुहिने र नकुहिने फोहोरको वर्गीकरण गरी विद्युत् उत्पादन गर्ने, कम्पोस्ट मल बनाउने तथा कच्चा पदार्थ प्रशोधन केन्द्र स्थापना गर्ने तथा स्थानीयवासीको समस्या समाधान गर्ने जस्ता विषयहरूमा काठमाडौँ महानगरपालिका र अन्य सम्बन्धित निकायहरूसँग समन्वय र सहकार्य हुँदै आएको छ ।’