रूससँगको युद्ध समाप्त भएपछि अमेरिकाले युक्रेनको सुरक्षा ग्यारेन्टी गर्न मद्दत गर्न सक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।
अहिलेसम्म अमेरिकाले त्यस्तो खालको प्रतिबद्धतालाई बेवास्ता गर्दै आएको थियो । तर सोमबार ट्रम्पले युरोपेली देशहरूले अमेरिकाको सहयोगमा यो सुरक्षा ग्यारेन्टी दिन सक्ने बताए ।
अमेरिकाले युक्रेनको सुरक्षा सुनिश्चित गर्न युरोपलाई मद्दत गर्ने उनको भनाइ थियो । यद्यपि, यो सुरक्षा प्रत्याभूतिको रूप कस्तो हुनेछ र यो कति बलियो हुनेछ भन्ने चाँहि स्पष्ट छैन ।
युक्रेनलाई दिने सुरक्षा प्रत्याभूति नेटोको धारा ५ बराबर हुने कुरामा रुसले सहमति जनाएको ट्रम्पका विशेष दूत स्टीव विटकफले सीएनएनलाई बताएका थिए । यो धारामा नेटोको एउटा सदस्यमाथिको आक्रमणलाई सबै सदस्यमाथि आक्रमण मानिने कुरा उल्लेख गरिएको छ ।
सोमबार ह्वाइट हाउसको ओभल अफिसमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र युरोपेली देशका नेताहरूसँगको बैठकमा यो मुद्दामा छलफल नगरिएको ट्रम्पले बताए ।
युक्रेनको लागि सुरक्षा प्रत्याभूति औपचारिक रूपमा १० दिन भित्र निर्णय गरिने युक्रेनी राष्ट्रपति जेलेन्स्कीले बताए । यो प्रत्याभूतिमा ९० अर्ब डलरको अमेरिकी हतियार खरिद पनि समावेश छ ।