डडेल्धुराको आलिताल गाउँपालिका–८ मौरीमा मोटरसाइकलले ठक्कर दिँदा एक महिला गम्भीर घाइते भएकी छिन्। उनको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार हिजो (आइतबार) साँझ करिब ७ बजे बुडरबाट जोगबुडातर्फ जाँदै गरेको सु.प.प्र.०१–१२प ४२०८ नम्बरको मोटरसाइकलले स्थानीय गणेश बहादुर देउवाकी ४५ वर्षीया श्रीमती धना देवी देउवालाई ठक्कर दिएको हो।
दुर्घटनामा परी गम्भीर घाइते भएकी देउवालाई तत्कालै गोदामस्थित सुबोध मेडिकलमा सामान्य उपचार पश्चात् थप उपचारका लागि धनगढी रिफर गरिएको थियो। प्रहरी निरीक्षक तथा सूचना अधिकारी डम्बर विष्टका अनुसार हाल उनको धनगढीस्थित नवजीवन अस्पतालको सघन उपचार कक्ष (आईसीयु) मा उपचार भइरहेको र अवस्था गम्भीर रहेको छ।
मोटरसाइकल चालक परशुराम नगरपालिका–४ कटालका होम बहादुर माल र दुर्घटनामा संलग्न मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ।