बैतडीको पुर्चौंडी नगरपालिका–१० स्थित विजयपुर स्वास्थ्य चौकीमा कार्यरत २४ वर्षीया अनमी भागरथी कुँवर आफ्नै डेरामा मृत फेला परेकी छन्।
विजयपुरमै घर भएकी कुँवर स्वास्थ्य चौकी घरबाट टाढा भएकाले डेरामा बस्दै आएकी थिइन्। आइतबार राति करिब ८ बजेतिर उनी झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । मृतक कुँवरको गत वैशाखमा विवाह भएको थियो।
उनका श्रीमान् नेपाली सेनाको स्वास्थ्य प्राविधिक सेवामा कार्यरत रहेको बताइएको छ।
विजयपुर स्वास्थ्य चौकीका प्रमुख रामबहादुर महराका अनुसार भागरथी जिम्मेवार र सक्रिय स्वास्थ्यकर्मी थिइन् । उनको अकस्मात निधनले स्वास्थ्य चौकी परिवार स्तब्ध भएको उनले बताए ।