उपप्रधानमन्त्री सिंह र सहरी विकास सचिव सिग्देलबिच कार्यसम्पादन सम्झौता

 संवाददाता    २०८२, २ भाद्र सोमबार १४:२८     211 जनाले पढ़िसके



Spread the love

उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंह र सहरी विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलबिच आर्थिक वर्ष ०८२/८३ का लागि कार्यसम्पादन सम्झौता भएको छ । सहरी विकास मन्त्रालयको सभाहलमा उपप्रधानमन्त्री सिंहसँग चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि सचिव सिग्देलले कार्यसम्पादन सम्झौता गरेका हुन् ।

उपप्रधानमन्त्री सिंहले आर्थीक वर्ष ०८२/८३ मा गरिने कार्य सम्पादनलाई छिटो र प्रभावकारी बनाउन आज भएको सम्झौता इमानदारीपूर्वक पालना गर्न निर्देशन दिए । उनले अघिल्लो आर्थिक वर्षमा समयमा काम हुन नसक्दा लक्ष्य हासिल नभएकोमा असन्तुष्टि जनाउँदै समयमा योजनाहरू सम्पन्न नभएकोबारे प्रश्न गरे ।

‘कर्मचारीहरुले निर्वाह गर्नुपर्ने भूमिका इमानदार भएर पूरा गर्नुपर्‍यो । समयमा गर्नुपर्ने निर्णय समयमा हुनुपर्‍यो । पन्छने प्रवृत्तिले समयमा काम हुन सक्दै । गर्नुपर्ने काम समयमा गर्नुस्, जनतालाई छिटो रिजल्ट दिनुपर्छ,’ उनले भने- ‘सहरी विकास मन्त्रालय विकास निर्माणसँग सम्बन्धित मन्त्रालय हो । नागरिकको प्रत्यक्ष चासो जोडिएको हुन्छ । जनतालाई छिटो नतिजा दिने गरी काम गर्नुपर्छ । यसमा सबै गम्भीर बन्नुस् ।’

उनले अघिल्लो आर्थिक वर्षमा भएका कमजोरी नदोहोर्‍याउन सचेत गराउँदै चालू आर्थिक वर्षमा मन्त्रालयका काम प्रभावकारी बनाउन सचिवसहित सबै विभागीय प्रमुखहरूलाई निर्देशन पनि दिए ।

सचिव सिग्देलले गत आवमा केही कारणले आर्थिक प्रगति कम भए पनि भौतिक प्रगति राम्रो भएको भन्दै चालू आवमा कार्य लक्ष्य हासिल गर्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उपप्रधानमन्त्री सिंहले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग कार्यसम्पादन सम्झौता गरेका थिए ।