भारतमा मतदाता प्रमाणीकरण र मत चोरीको आरोपलाई लिएर विपक्षी दलले संसदमा प्रमुख निर्वाचन आयुक्तविरुद्ध महाभियोग प्रस्ताव ल्याउने संकेत गरेको छ।
कांग्रेसका राज्यसभा सांसद सैयद नसीर हुसेनले समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै भने, ‘आवश्यक परेमा पार्टी महाभियोग प्रस्तावसहित सबै लोकतान्त्रिक माध्यम प्रयोग गर्न तयार छ।’ यद्यपि, उनले अहिलेसम्म औपचारिक छलफल भने नभएको स्पष्ट पारे।
यसबिच, सोमबार पनि लोकसभा र राज्यसभामा विपक्षी दलको होहल्ला जारी रह्यो। बिहारमा मतदाता प्रमाणीकरणको विषय उठाउँदै विपक्षी सांसदहरूले ‘भोट चोर गद्दी छोड’ र ‘हामी न्याय चाहन्छौं’ भन्ने नारा लगाएका थिए।
लोकसभा अध्यक्षको चेतावनीका बाबजुद अवरोध नरोकिएपछि सदन पहिलोपटक दिउँसो १२ बजेसम्मका लागि स्थगित भयो। कार्यवाही पुनः सुरु भएपछि पनि नाराबाजी जारी रहँदा पुनः दिउँसो २ बजेसम्मका लागि स्थगित गर्नुपर्यो।
आजको कार्यसूचीमा ग्रुप क्याप्टेन शुभांशु शुक्लाको अन्तरिक्ष यात्राको सफलताबारे विशेष छलफल हुने कार्यक्रम रहेको छ। तर विपक्षी अवरोधका कारण राज्यसभा पनि दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको छ।