आज ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की र युरोपेली नेताहरूले भेट्दैछन् । यो भेटअघि ट्रम्पले रुस र युक्रेनबिच चलिरहेको युद्धमा आफ्नो अडान स्पष्ट पारेका छन् ।
‘युक्रेनी राष्ट्रपति जेलेन्स्कीले चाहेमा तुरुन्तै रुससँगको युद्ध समाप्त गर्न सक्छन्, वा लडाइँ जारी राख्न सक्छन्’ आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म टुथ सोसलमा एउटा पोस्टमा उनले लेखेका छन् ।
उनले अझ अगाडि लेखेका छन्– ‘यो कसरी सुरु भयो भनेर सम्झनुहोस् । ओबामाको तर्फबाट दिइएको क्रिमिया फिर्ता हुनेछैन (१२ वर्ष पहिले, एक गोली नचलाईकन!), अनि युक्रेन नाटोमा पनि सामेल हुनेछैन । केही कुराहरू कहिल्यै परिवर्तन हुने छैनन् ।’
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सोमबार भेट्ने कार्यक्रम छ । जेलेन्स्कीसँगको यस बैठकमा बेलायती प्रधानमन्त्री केयर स्टारमर, इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनी, जर्मन चान्सलर फ्रेडरिक मर्ज, फिनल्यान्डका राष्ट्रपति अलेक्ज्याण्डर स्टब, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रो, नेटो महासचिव मार्क रुट र युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयन पनि सहभागी हुनेछन् ।