आगामी कात्तिक १७ गतेका लागि तोकिएको रुपन्देही–३ को उपचुनावको फिल्ड स्टडी गर्न नेपाली कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्मालाई रुपन्देही पठाएको छ । कांग्रेसका अर्का महामन्त्री गगन थापाले महामन्त्री शर्मा उपनिर्वाचनको फिल्ड स्टडी गर्न रुपन्देही गएको जानकारी दिए ।
कांग्रेसले केही दिन अगाडि २०७९ को निर्वाचनमा रुपन्देही क्षेत्र नं. ३ मा पार्टीबाट उम्मेदवार बनेका केन्द्रीय सदस्य बालकृष्ण खाण, रुपन्देही कांग्रेस सभापति रामकृष्ण खाण र पार्टीका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनलाई पदाधिकारी बैठकमा बोलाएर त्यहाँको अवस्थाबारे जानकारी लिएको थियो ।
शर्माले त्यो निर्वाचन क्षेत्रमा पार्टीको अवस्था कस्तो छ ? उपनिर्वाचन जित्नका लागि के गर्नुपर्छ ? कस्तो नेतालाई उम्मेदवार बनाउनुपर्छ भन्ने बारेमा अध्ययन गरेर फर्कनेछन् ।