एमाले विधान महाधिवेशनको ‘काउन्ट डाउन’ : २१ सय २८ प्रतिनिधि सहभागी हुने

 संवाददाता    २०८२, १ भाद्र आईतवार १०:५५     174 जनाले पढ़िसके



Spread the love

नेकपा एमालेले अबको तीन सातापछि हुने दोस्रो विधान महाधिवेशनको तयारी तीव्र पारेको छ । भदौ २० देखि २२ गतेसम्म हुने महाधिवेशनमा २१ सय २८ प्रतिनिधिसहित २३ सय ९२ जना सहभागी हुने भएका छन् ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको दोस्रो विधान महाधिवेशन मूल व्यवस्थापन समितिको बैठकमा सङ्गठन विभागले पेस गरेको प्रतिवेदनमा सहभागीको जम्मा सङ्ख्या २३ सय ९२ जना हुने उल्लेख छ ।

पार्टी स्थायी कमिटी सदस्य एवं प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार सहभागीमध्ये २१ सय २८ जना प्रतीतिनिधि र २६४ जना आयोजकको रूपमा सहभागी हुनेछन् । २०७८ मा चितवनमा भएको १० औँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधि मात्र विधान महाधिवेशनका प्रतिनिधि हुने भएकोले कतिपय केन्द्रीय सदस्य पनि आयोजकको हैसियतमा रहने भएका छन् ।

महाधिवेशनमा सहभागी प्रतिनिधिहरुलाई डिजिटल कार्डको व्यवस्था गरिने एमालेले जनाएको छ । महाधिवेशन मूल व्यवस्थापन समितिको बैठकमा महाधिवेशनलाई भव्य बनाउन ललितपुरको सातदोबाटो देखि गोदावरी सनराइज हलसम्म विभिन्न ठाउँमा स्वागतद्वार निर्माण गर्ने निर्णय एमालेले गरेको छ ।

गौतमका अनुसार बागमती प्रदेश,ललितपुर जिल्ला,स्थानीय कमिटी र जनसंगठनहरुका तर्फबाट स्वागतद्वार निर्माण गरिनेछन् । यसैगरी महाधिवेशन स्थलमा कम्तीमा ३ सय जना स्वयंसेवक परिचालन गर्ने तयारी रहेको एमालेले जनाएको छ ।

स्वयंसेवकको जिम्मा युवा संघ,खेलकुद महासंघ लगायतका जनसंगठनले लिएका छन् । बैठकमा महाधिवेशन स्थलमा सञ्चार माध्यमलाई समाचार सम्प्रेषण गर्न सहजताका लागि न्यूज डेस्क स्थापना गर्ने तथा मिडियालाई महाधिवेशनको रिर्पोटिङका लागि पासको व्यवस्था गर्ने एमालेले जनाएको छ ।

महाधिवेशनको मूल नारा तय गर्ने काम भइरहेकोले केही दिन भित्रै महाधिवेशनको प्रचार व्यापक बनाउन, फ्लयार, भिडियो सामग्रीहरू उत्पादन गरेर नेता कार्यकर्ताले सामाजिक सञ्जालमा व्यापक बनाउने तयारी छ । महाधिवेशनमा सहभागी हुने प्रतिनिधिलाई कुनै शुल्क नलिने र आवासको प्रबन्ध प्रतिनिधि आफैँले गर्नुपर्ने एमालेले जनाएको छ ।

प्रचार विभाग प्रमुख गौतमले दिएको जानकारी अनुसार सातदोबाटोबाट गोदावरीसम्म जानका लागि सार्वजनिक यातायातको प्रबन्ध पार्टीका विभिन्न कमिटीहरूले गर्नेछन् । महाधिवेशन स्थलमा तीन सिफ्टमा चिकित्सक सहितको स्वास्थ्य जाँच डेस्क स्थापना गरिने छ ।

एमालेले भदौ १० गतेसम्ममा मातहतका कमिटीलाई विधानका बारेमा सुझाव दिन समय दिएको छ । सबै प्रदेशहरूले सुझाव पठाएपछि तिनीहरूलाई समेत समेटेर राजनीतिक प्रतिवेदन तयार गर्ने गृहकार्य भइरहेको छ ।

महाधिवेशनमा राजनीतिक प्रतिवेदन अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली,विधान संशोधन सम्बन्धी प्रस्ताव उपाध्यक्ष एवं उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले र साङ्गठनिक प्रतिवेदन महासचिव शङ्कर पोखरेले पेस गर्नेछन् ।

एमालेले महाधिवेशन सफल पार्न यसअघि नै विभिन्न कमिटीहरू बनाएर नेताहरूलाई जिम्मेवारी तोकिसकेको छ । सबै कमिटीहरूले महाधिवेशन तयारीको काम गरिरहेको गौतमले जानकारी दिए ।

व्यवस्थापन समितिको बैठकलाई सम्बोधन गर्दै महासचिव शङ्कर पोखरेलले एमालेलाई एकमना एकताका साथ अघि बढाउने र एमालेले लिन नीति र विधि तय गर्ने उत्सव भएकोले सबैलाई गम्भीरतापूर्वक जिम्मेवारी निर्वाह गर्न आग्रह गरेका छन् ।

महासचिव पोखरेलले व्यवस्थापनको जिम्मा पाएका सबै समितिहरूलाई तीव्रताका साथ काम गर्न पनि निर्देशन दिएका छन् । एमालेले आइतबारबाट महाधिवेशनको काउन्ट डाउन (दिनगन्ती) पनि सुरु गर्ने भएको छ ।