संसदीय समितिमा नक्कली व्याकुल माइलाको चर्चा भएको छ । प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक शुक्रबार सिंहदरबारमा बसेको थियो ।
आजको समितिको कार्यसूची नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि मन्त्रालयबाट बृहत्तर तुलनात्मक विश्लेषण सहितको प्रस्तुतीकरण र छलफल हुने थियो ।
समितिमा संशोधनकर्ता सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टी सांसद सोविता गौतमले विधेयकमाथि आफ्नो धारणा राखिन् । साथै उनले बजारमा नक्कली व्याकुल माइलाको चर्चा रहेको समितिलाई जानकारी गराइन् ।
समितिको बैठकमा सांसद गौतमले राष्ट्रिय गानका रचयिता प्रदीप राई (व्याकुल माइला) बनेर उनको आत्मसम्मानमा चोट पुग्ने गरी व्याकुल माइला हुँ भनेर किताबहरू निकाल्ने, प्रपोजलहरु गर्ने र बजेटहरू निकासा पनि गरिएको कुरा चर्चामा रहेको बताइन् ।
नेपालको राष्ट्रिय गान सिर्जना गर्ने व्यक्तिमाथि यस किसिमको व्यवहार राम्रो नभएको पनि उनले बताइन् । यसबारे प्रहरीलाई जानकारी गराउँदा प्रहरीले नक्कली व्यक्ति आयो भनेर उजुरी दिन आग्रह गरिएको बताइन् ।
उनले भनिन्,‘अहिले व्याकुल माइलाको कुरा आइरहेको रहेछ । एक जना कोही व्यक्तिले व्याकुल माइला हुँ भनेर किताबहरू निकाल्ने, प्रपोजलहरु गर्ने, कता कता गएर बजेटहरू निकासा गर्ने, यो खालको कुराहरू भइरहेको रहेछ । उहाँको आत्मसम्मानमा चोट पुग्यो भन्ने कुरा आयो । यो संवेदनशील विषय हो । नेपालको राष्ट्रिय गान सिर्जना गर्ने व्यक्तिमाथि यस्तो हुनु हुँदैन । प्रहरीले नक्कली व्यक्ति आयो भनेर उजुरी हाल्नुस् भनेको रहेछ । सक्कली मान्छेलाई नक्कली व्यक्ति आयो भनेर उजुरी हाल्न ह्युमुलेसन पनि हुन्छ । यो विषय मन्त्रालयले ध्यानाकर्षण गरोस् ।’
उनले समिति र सरकारले यसबारेमा संवेदनशील हुनुपर्ने भन्दै ध्यानाकर्षण गराइन् ।