२३ दिनदेखि अखिल क्रान्तिकारीका विद्यार्थी रिले अनशनमा

 संवाददाता    २०८२, ३१ श्रावण शुक्रबार १४:४०     257 जनाले पढ़िसके



Spread the love

नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका विद्यार्थी शुल्क घटाउनु पर्ने माग राखेर त्रिभुवन विश्वविद्यालयमा रिले अनशनमा बसेको २३ दिन पुग्यो। तर, माग सम्बोधन नभएको गुनासो विद्यार्थीहरूको छ ।

‘हामी रिले अनशनमै छौँ । माग सम्बोधन भएको छैन,’ अखिल क्रान्तिकारी त्रिवि इन्चार्ज ममता जोशीले भनिन्। अन्तर्राष्ट्रिय सम्बन्ध, द्वन्द्व र शान्ति, सामाजिक कार्य, लैङ्गिकता सम्बन्धी अध्ययन कार्यक्रमलाई ९ महिना अघि केन्द्रीय विभागमा गाभिएको थियो।

 

विभागमा गाभिएपछि शुल्क घटाउनु पर्ने माग विद्यार्थीहरूले राखेका हुन् ।विभागका शिक्षक, कर्मचारी र भौतिक संरचनाको व्यवस्थापन गर्नुपर्ने माग पनि अखिल क्रान्तिकारीको छ । १९ दिनसम्म उपकुलपतिको कार्यकक्ष अगाडि रिले अनशनमा बसेका थिए।

१९ औँ दिनको दिन प्रहरीसँग झडप भएपछि विद्यार्थीहरू बाहिरै रिले अनशनमा बसेका हुन् । त्रिविले आन्दोलनरत विद्यार्थीसँग वार्ता गर्न समिति पनि बनाएको छ ।

 

विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक प्राध्यापक पशुपति अधिकारीको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति बनाइएको छ । वार्ता समितिले पटक पटक वार्ता गरेपनि सहमति जुट्न सकेको छैन ।