बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी ललितपुर महालक्ष्मी नगरपालिका-४ इमाडोल बस्ने सुनसरी धरान उपमहानगरपालिका-८ घर भएका ३८ वर्षीय प्रदेश विक्रम थाम्सुहाङलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत मोरङबाट उक्त मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौँ महानगरपालिका-११ थापाथलीबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय मोरङ पठाइएको छ ।
त्यसैगरी, विद्युतीय कारोबार मुद्दाका फरार प्रतिवादी भक्तपुर, भक्तपुर नगरपालिका-९ जेला बस्ने २७ वर्षीय सुमन त्योछिनलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत काठमाडौँको २०८० असार १९ गतेको फैसलाले उक्त मुद्दामा १ महिना १५ दिन कैद सजाय र ५ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भक्तपुर नगरपालिका-९ जेलाबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौँमा पेस गरिएको छ ।