फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ आगामी भदौ ६ गतेदेखि रिलिज हुँदैछ । फिल्मको मुख्य भूमिकामा अभिनेता विजय बराल छन् । जसले केही अघिमात्र ब्लकबस्टर (सर्वाधिक कमाउने) फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ दिएका थिए ।
‘पूर्ण बहादुरको सारङ्गी’पछि आउन लागेको उनको मुख्य भूमिका रहेको फिल्म नै ‘जनै हराएको मान्छे’ हो । फिल्मले कस्तो व्यवसाय गर्छ सबैको चासोको विषय बनेको छ । फिल्म हिमाल न्यौपानेले निर्देशन गरेका हुन् ।
फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’झैँ गाउँले परिवशेषकै कथामा भएकोले दर्शकले रुचाउने निर्देशक न्यौपाने बताउँछन् ।
अभिनेता विजय बराल पनि गाउँलेकै कथा, गरिबीकै कथा, परिवारका सदस्यसँगकै इमोशनल सम्बन्ध रहेकोले ‘जनै हराएको मान्छे’ सबैको रुचिमा पर्ने बताउँछन् ।
‘दर्शकले मलाई जस्तो रुपमा खोज्नु हुन्छ । म यस्मा पनि त्यस्तै रुपमा देखिएको छु’, विजयले भने ‘फिल्म रमाइलो बनेको छ । ‘नयाँ, फरक र गजब काम यसमा भएको छ ।’
विजयसँगै फिल्ममा मिरुना मगर, केकी अधिकारी, सुशांक मैनाली, गौरव पहाडी, भोलाराज सापकोटा, रियर राई, तारा शर्मा, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालगायतको अभिनय छ ।
पेपरक्लिपको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । कार्यकारी निर्माता नारायण तिमिसिना, चूडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् ।
थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीको संगीत रहेको फिल्ममा नवीन गुरुङ डीओपी र कृष्ण परियारको सिनेमेटोग्राफी रहेको छ ।
कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेको फिल्म गोविन्द शाहीको काफिया फिल्मसले वितरण गर्दैछ ।