कारागारहरू मानव अधिकारमैत्री नभएको आयोगको निष्कर्ष, सुधार गर्न निर्देशन

 संवाददाता    २०८२, २८ श्रावण मंगलवार १७:१७     156 जनाले पढ़िसके



Spread the love

राष्ट्रिय मानव अधिकार आयोगले कारागारहरू मानव अधिकारमैत्री नभएको आयोगको निष्कर्ष निकालेको छ । आयोगले यसअगाडि कारागारहरुको अनुगमन गरी दिएका सिफारिसहरूको प्रभावकारी कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ ।

यस्तै आयोगले कारागार व्यवस्थापनका लागि पर्याप्त जनशक्ति र बजेटको व्यवस्था गर्न, रुपन्देही तथा कैलाली कारागारलगायतका सबै कारागारहरूको क्षमता अभिवृद्धि गरी उचित सुधार गर्न, कैदीबन्दीको स्थानान्तरण प्रक्रिया पारदर्शी बनाउन, कारागारमा पटक पटक हुने गरेका भिडन्तहरू दोहोरिन नदिने रणनीति तय गर्न, कारागारको सुरक्षा व्यवस्थालाई चुस्त बनाउन, कारागारलाई सुधारगृहको रूपमा विकास गर्न, कारागार व्यवस्थापन र कारागारभित्रको प्रशासनिक क्रियाकलापलाई पारदर्शी बनाउन, कैदीबन्दीहरुप्रति मानवोचित व्यवहार गर्न र देशभरका सम्पूर्ण कारागारहरूलाई मानव अधिकारमैत्री बनाउन समेत निर्देशन दिएको छ ।

पछिल्लो समय कैलाली कारागारमा कैदीबन्दीहरु बिच भएको मुठभेडबाट उत्पन्न स्थिति र रुपन्देही जिल्ला कारागारको समग्र स्थितिको बारेमा अनुगमन गरिएको आयोगले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आयोगका सदस्य डा. लिली थापासहितको आयोगको टोलीले रुपन्देही कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित अन्य कैदीबन्दीहरुसँग भेट गर्नुका साथै कारागारको भौतिक अवस्था र समग्र व्यवस्थापनको बारेमा अनुगमन गरेको विज्ञप्तिमा उल्लेख छ ।

कारागारमा रवि लामिछानेलाई राखिएको कोठाको झ्याल प्लाइले बन्द गर्दा कोठामा हावा पास हुन नसकेको, निजलाई कोठाबाहिर हिँडडुल गर्न नदिइएको, कोठासँगै खुला ट्वाइलेट रहेको, स्वास्थ्यको दृष्टिकोणले निजलाई राखिएको कोठा उपयुक्त नभएको र अदालतबाट आदेश हुँदा समेत लामिछानेलाई स्थानान्तरण नगरिएको पाइएको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै रुपन्देही कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएको, ज्येष्ठ नागरिक र बिरामीलाई राख्ने छुट्टै स्थान नभएको, पर्याप्त पत्रपत्रिका उपलब्ध नभएको, पढ्न चाहनेहरूका लागि शिक्षाको उचित व्यवस्था नभएको, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नुपर्नेहरुले प्राप्त गर्न नसकेको, बेलाबेलामा कारागारभित्र सर्पहरू पस्ने गरेको र कतिपय आधारभूत आवश्यकताहरूको व्यवस्थापनका लागि समेत कारागार कार्यालयसँग पर्याप्त बजेट नभएको भन्ने जानकारी अनुगमनका क्रममा पाइएको प्रवक्ता डा टीकाराम पोख्रेलले जानकारी दिए ।

यसैगरी कैलाली कारागारमा पछिल्लो पटक भएको हिंसात्मक मुठभेडबाट उत्पन्न परिस्थितिबारे आयोगको सुदूरपश्चिम कार्यालयले निरन्तर अनुगमन गरिरहेको पनि विज्ञप्तिमा उल्लेख छ । कैलाली कारागारमा साउन २४ गते भएको घटना अगावै पनि सम्भावित घटनाप्रति सतर्कता अपनाउन कारागार सम्बद्ध निकायमा पत्राचार पत्राचार गरिएको आयोगको भनाइ छ ।

‘घटनापश्चात् तत्काल आयोगको सुदूरपश्चिम कार्यालय धनगढीले अनुगमन गर्दा कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी भएको, उक्त कारागारमा कैदीबन्दी बिच पटक पटक झगडा हुँदा पनि राज्य संयन्त्रले समस्या समाधानको लागि पर्याप्त पहल नगरेको, सुरक्षाकर्मीको संख्या न्यून रहेको, सुरक्षा चेकचाँच अत्यन्तै फितलो हुनुका साथै प्रविधियुक्त नरहेको र स्थानान्तरण प्रक्रिया पारदर्शी नहुँदा कैदीबन्दी बिच द्विपक्षीय भिडन्त हुन पुगेको पाइएको छ’, विज्ञप्तिमा उल्लेख छ ।