सङ्घीय निजामती विधेयकको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्थामा भएको चलखेलमा जिम्मेवार ठहरिएका राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिने मनस्थिति (मुड) बनाएका छन् ।
सभापति खतिवडाले आजको प्रतिनिधि सभा बैठकमा बोलेर समिति सभापति पदबाट राजीनामा दिन सक्ने उनी निकट स्रोतले बताएको छ ।
त्यसका लागि खतिवडाले मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्न समय लिइसकेका छन् । निजामती विधेयकको कुलिङ पिरियडसम्बन्धी प्रावधानमा चलखेल गरेको विषयमा गठित संसदीय छानबिन समितिले खतिवडालाई नैतिक जिम्मेवार ठहर गरेको थियो ।
नैतिक जिम्मेवार देखिएपछि खतिवडाले राजीनामा दिनुपर्ने माग प्रतिपक्षी र सत्तापक्षबाटै समेत उठ्दै आएको छ ।
यसैबिच सङ्घीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समिति’ कार्यान्वयनका विषयमा सभामुखले मंगलबारको संसद् बैठक सकिए लगत्तै सिंहदरबारमा प्रमुख पाँच दलका प्रमुख सचेतकसँग छलफल गर्ने तयारी गरेका छन् ।