नबिल बैंकले कमायो ७ अर्ब माथि, कति बाँड्न सक्छ लाभांश ?

 संवाददाता    २०८२, २८ श्रावण मंगलवार १२:०८     204 जनाले पढ़िसके



Spread the love

नबिल बैंकले ७ अर्ब भन्दा धेरै नाफा कमाएको छ । बैंकले प्रकाशन गरेको आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण अनुसार बैंकले सो आर्थिक वर्षमा ७ अर्ब १२ करोड नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्ष ६ अर्ब १९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिको बैंकको नाफा गत वर्षको भन्दा १५.०१ प्रतिशत बढेको हो।

बैंकको व्यवसायबाट प्राप्त आम्दानी सामान्य मात्रै बढे पनि इम्पेरमेन्ट चार्जमा छुट्टाउनुपर्ने रकम घटेका कारण खुद नाफा बढेको देखिएको छ ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १६ अर्ब ३२ करोड बराबर गरेको छ। कमिसन तथा शुल्कतर्फको आम्दानी ३ अर्ब ४१ करोड गरेको बैंकले सञ्चालन तथा कर्मचारी खर्चमा झण्डै ७ अर्ब रुपैयाँ खर्चेको छ । यो अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज २ अर्ब ३९ करोड रुपैयाँ छुट्याएको छ, गत वर्ष यो शीर्षकमा ४ अर्ब ६२ करोड छुट्टाइएको थियो ।

२७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा ३६ अर्ब ६८ करोड रुपैयाँ सञ्चित छ। यस अनुसार बैंकको प्रतिशेयर नेटवर्थ २३५.५८ रुपैयाँ रहेको छ । असार मसान्तसम्ममा बैंकले ५ खर्ब २४ अर्ब ६२ करोड रुपैयाँ निक्षेप सङ्कलन गरी ४ खर्ब १२ अर्ब ७९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ गरेको छ।

बैंकको वितरणयोग्य मुनाफा ४ अर्ब ७७ करोड रुपैयाँ रहेको छ जुन प्रतिशेयर आम्दानी १७.६४ रुपैयाँ बराबर हो। बैंकको प्रतिशेयर आम्दानी २६.३४ रुपैयाँ पुगेको छ।

बैंकको निष्क्रिय कर्जा ४.२७ प्रतिशतमा झरेको छ । अघिल्लो वर्ष यस्तो दर ४.४५ प्रतिशत रहेको थियो । बैंकको पुँजीकोष अनुपात ११.९४ प्रतिशत, कस्ट अफ फण्ड ४.४१ प्रतिशत, बेसरेट ५.८३ प्रतिशत र ब्याजको स्प्रेडदर ३.५७ प्रतिशत रहेको छ ।