विद्याबारे ओलीको कटाक्ष : मदन भण्डारी फाउन्डेसन पार्टीको होइन

 संवाददाता    २०८२, २८ श्रावण मंगलवार ०८:३७     262 जनाले पढ़िसके



Spread the love

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारी फाउन्डेसन पार्टीले नबनाएको बताएका छन् ।

सोमबार एमाले मुख्यालय च्यासलमा आयोजित मदन-आश्रित स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् l एमालेका अध्यक्ष ओलीले कतिपय नेताका नामका प्रतिष्ठानहरू सामूहिक हुनुपर्ने भन्दै कतिपय प्रतिष्ठान पछि व्यक्तिको कब्जामा जाने गरेको पनि बताए ।

‘पार्टीले नै पुष्पलाल र मनमोहन लगायत अन्य प्रतिष्ठान स्थापना गर्‍यो । पहिला पहिला प्रधानमन्त्री भएपछि भ्याउँदैन भनेर चेन्ज गर्ने छँदै थियो । पछि केही व्यक्तिहरूले छाड्दै नछाडेर त्यसलाई माध्यम बनाएर त्यहाँ काम गर्नेहरूलाई ग्रिपमा लिएर कब्जा गर्ने’, उनले भने, ‘परिवर्तनको पक्षमा लाग्ने होइन कि व्यक्तिको ठगी खाने भाँडो भन्ने कि ।’

एमालेका अध्यक्ष ओलीले पार्टीका संस्था सामूहिक हुनुपर्ने पनि बताए । ‘मदन भण्डारी फाउन्डेसन पार्टीले बनाएको होइन त्यो आफै बनाएको हो । अर्को ढङ्गले’, ओलीले भने, ‘मदन आश्रित स्मृति मनाउन नपाइने स्थिति बन्यो । पर्सी जन्मदिन छ भने विभिन्न विकृतिपूर्ण लेखहरू लिडरसिपबाट लेख्ने र प्रकाशित हुने भए । त्यसपछि मदन भण्डारी फाउण्डेशन जन्मिएकाे हो ।’

उनले आगामी दिनमा मदन भण्डारी फाउन्डेसन कसरी जान्छ भन्ने हेर्नुपर्ने भन्दै चक्रपथ भन्ने अनलाइनको प्रस्तुति हेर्दा अन्योल रहेको बताए ।

‘कम्युनिस्ट पाठशाला कि के भनेर बनाएको छ एउटा । त्यो व्यक्तिको हो कि परिवारको हो कि ? आन्दोलनको नाममा काम गर्छ कि ठगी खाने भाँडो ?’, एमाले अध्यक्ष ओलीले भने, ‘आन्दोलनको विपरीत हुने गरी प्रयोग गर्नु उचित होइन ।’

मदन भण्डारी फाउन्डेसनको संरक्षक पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी छन् भने अध्यक्ष उनकी छोरी उषाकिरण भण्डारी छन् ।