सहभागी आठवटै टोलीले उत्कृष्ट टिम बनाउन खेलाडी खरिदमा भ्याएसम्मको रणनीति बुने। केही खेलाडीको हकमा कुनै टिम भाग्यमानी देखियो भने कतिपयले चाहेको खेलाडी रोजेको देखियो।
अनुमान गरिए झैँ कतिपय खेलाडी माथि अधिकतम बोली लाग्यो भने चर्चित केही खेलाडीहरू ‘अनसोल्ड’ हुन पुगे वा तिनलाई कसैले किनेनन्।
स्वाभाविक रूपमा आदिल आलम माथि आठ वटै फ्रेञ्चाइज टोलीबीच हानथाप भयो।
नेपालका एक उत्कृष्ट अलराउन्डरका रूपमा परिचित आदिल ‘स्पट फिक्सिङ’ प्रकरणमा फसेर प्रतिबन्ध भोगिरहेका कारण गत वर्षको पहिलो सिजनको एनपीएलमा सहभागी थिएनन्।
हालै मात्र निर्दोष साबित भएका आदिलमाथि लागेको प्रतिबन्धलाई नेपाल क्रिकेट सङ्घ क्यानले वैशाखमा फुकुवा गरेको थियो।
त्यसपछि क्यानले आदिललाई आगामी अक्टोबरमा ओमानमा हुने पुरुष आईसीसी टी–२० विश्वकप एशिया र पूर्वी एशिया–प्यासिफिक छनोटका लागि क्याम्पमा पनि बोलाएको थियो।
आठवटै टोलीले बोली लगाएका आदिल लक्की ड्र बाट काठमाडौँ गोर्खाजमा आबद्ध भएका छन्।
आदिलपछि यू-१९ टोलीका पूर्व कप्तान देव खनाल, अर्जुन साउद र पवन सर्राफ माथि उच्चतम बोली लाग्यो।
अक्सनको क्याटेगोरी ‘ए’ मा रहेका यी सबै खेलाडीले अधिकतम १५ लाखको मूल्य पाएका थिए।
देव खनाल र अर्जुन साउद चितवन राइनोजमा पुगे।
गत सिजनमा कर्णाली याक्समा आबद्ध देवलाई कर्णालीले रिलिज गरेको थियो। त्यस्तै विकेटकिपर ब्याटर अर्जुनलाई लुम्बिनी लायन्सले छोडेको थियो।
त्यसैगरी क्याटेगोरी ‘बी’ मा हेमन्त धामी अधिकतम १० लाख मूल्यमा बिक्री भए। लक्की ड्र मार्फत् उनी सुदूरपश्चिम रोयल्समा आबद्ध भए।
राष्ट्रिय टोलीका भेट्रान खेलाडी शरद भेषावकर अक्सनमा कुनै टोलीको रोजाइमा नपरेका सबैभन्दा चर्चित खेलाडी हुन्।
नेपाली क्रिकेटको गोल्डेन जेनेरेसनको शीर्ष ५ खेलाडीमा गनिने भेषावकर अहिले ३६ वर्षका भइसके।
गत वर्ष क्याटेगोरी ‘ए’ मा नबिकेका उनलाई पछि चितवन राईनोजले १० लाखको ‘बेस प्राइस’ मा आबद्ध गरेको थियो।
तर यसपालि उनलाई चितवनले ‘रिटेन’ भने गरेन।
त्यसैगरी क्याटेगोरी ‘ए’ मा नाम लेखाएका सुनिल धमला, सन्तोष कार्की र मौसम ढकाल पनि ‘बिकेनन्’।
केही चलेका नामहरू जस्तै पृथु बास्कोटा, रित गौतम, कृष्ण कार्की, भुवन कार्की, प्रदीप ऐरी, अनिल खरेल, जितेन्द्र मुखिया, शङ्कर राना जस्ता खेलाडीमा पनि कुनै पनि टिमले इच्छा देखाएनन्।
अक्सनका बेला अधिकांश टोलीले आदिल आलमलाई पर्खिरहेको जस्तो देखिएको थियो।
अक्सनबाट २६ खेलाडी मात्र छानियो। बाँकी ११ खेलाडीहरूलाई टोलीहरूले ‘विस लिस्ट’ बाट लिएका थिए।
जसमा क्याटेगोरी ‘बी’बाट दीपक बोहरा, दुर्गेश गुप्ता, विपिन रावल र शङ्कर राना बिक्री भएका थिए।
त्यसैगरी क्याटेगोरी ‘सी’ बाट मिलन बोहरा, आदिल खान, विपिन आचार्य, रञ्जित कुमार, विकास आग्रा, सर्वन किस्कु र सन्दीप केसी छानिन सफल भए।

मिनी अक्सन पूरा भएपछि अब टोलीहरूले तोकिएको सङ्ख्यामा विदेशी खेलाडी लिने छन्।
कतिपय टोलीले ठूला नाम भित्र्याउन पहिलेदेखि नै पहल थालिसकेको बताइसकेका छन्।
अब पहिलो सिजनभन्दा फरक कस्ता विदेशी खेलाडी आउलान् भन्नेमा क्रिकेट प्रेमीको चासो रहनेछ।
एनपीएलको पहिलो संस्करणमा भारतका शिखर धवन, न्युजील्यान्डका जिम्मी निशम, पाकिस्तानका सोहेल तनवर, इङ्ग्ल्यान्डका रवि बोपारा, अस्ट्रेलियाका बेन कटिङ, न्युजील्यान्डका मार्टिन गप्टिल, तथा अमेरिकाका एन्ड्रुयु गोस सहभागी भएका थिए।
गत वर्ष आइसीसीले टेस्ट राष्ट्रका हाल खेलिरहेकामध्ये ४ जना खेलाडीलाई मात्र एनपीएल खेल्ने अनुमति दिएको थियो।
यसपालि त्यो सीमा हटाउन क्यानले आइसीसीलाई पत्राचार गरिसकेको जनाएको छ।
त्यसो हुन सके थुप्रै चर्चित खेलाडी एनपीएलमा देखिन सक्छन्। ।