तिजको नाच हेर्न गएकी बालिका बलात्कृत ,बलात्कारमा संलग्न दुई जना प्रहरी नियन्त्रणमा

 संवाददाता    २०८२, २६ श्रावण आईतवार ११:२२     314 जनाले पढ़िसके



Spread the love

दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिकामा साउन २२ गते साँझ तिजको नाच हेर्न गएकी बालिका बलात्कारमा परेकी छिन्। गाउँका दुई युवकले लखेटीलखेटी बालिकालाई बलात्कार गरेकाे घटना सार्वजनिक भएको छ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक तथा सूचना अधिकारी लालबहादुर सुनारले बालिका बलात्कारमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको जानकारी दिए।

पक्राउ पर्नेमा चामुण्डाबिन्द्रासैनी नगरपालिका–८ का २३ वर्षीय गोविन्दबहादुर शाही र २५ वर्षीय खगेन्द्र भण्डारी छन्।

उनीहरूले छिमेक गाउँकी १२ वर्षीया बालिकालाई लखेटेर पालैपालो बलात्कार गरेका प्रहरी अनुसन्धानको क्रममा खुलेको छ।

‘साउन २२ गते (बिहीबार) राति तीजको नाँच हेरेर एकै उमेरका ४/५ जना किशोरीको समूह घर फर्किँदै रहेछन्,’ सुनारले भने, ‘त्यही समयमा गोविन्द र खगेन्द्रले उनीहरूलाई पिछा गरे। पिछा गरेको चाल पाएपछि किशोरीहरूभागेछन्। तर गोविन्द र खगेन्द्रले ती किशोरीलाई लखेट्न छाडेनन्। लखेटेरै उनीहरूले एक बालिकालाई समातेर पालैपालाे बलात्कार गरेछन्।’

ती बालिकाका साथीहरूले भागेर ज्यान जाेगाएका प्रहरीले जनाएकाे छ। अरोपितहरुले बलात्कार गरेकी बालिकालाई ढुंगासमेत प्रहार गरेका छन्।

उनीहरुले प्रहार गरेको ढुंगाले हातमा चोट लागेका कारण बालिका धेरै भाग्न सकिनन्। ढुंगाको चोटले ढलेकी ती बालिकालाई उनीहरुले एकान्तमा लगेर पालैपालो बलात्कार गरेका प्रहरीले जनाएको छ।

सुनारका अनुसार भागेर ज्यान जोगाएका किशोरीहरूले तत्कालै घरमा घटनाको बारेमा जानकारी दिएपछि अभिभावकहरु घटनास्थल पुगेका थिए।

बालिकाका अभिभावक घटनास्थल पुगेको थाहा पाएपछि ती बालिकालाई बेहोस् अवस्थामा छाडेर उनीहरू भागेका प्रहरीले जनाएको छ।

बालिकालाई घटना घटेकै दिन उपचारका लागि अस्पताल पुर्‍याइएको थियो। उपचारमा रहेका चिकित्सकका अनुसार बालिकाको दाहिने हात मर्केको छ भने गुप्ताङ्गमा घाउ छ।

पीडित बालिकाका आफन्तले शुक्रबार प्रहरीलाई जाहेरी दिएका छन्। सोही जाहेरीका आधारमा ती युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कर्यालय दैलेख जनाएको छ।

बालिकाको जिल्ला अस्पताल दैलेखका उपचार भइरकेको छ। बालिकाको अवस्था सामान्य बन्दै गएको प्रहरी निरीक्षक सुनार बताए।