‘निर्णय चित्त नबुझे महाधिवेशनबाट चुनौती दिनुस्’

 संवाददाता    २०८२, २६ श्रावण आईतवार ०९:५५     157 जनाले पढ़िसके



Spread the love

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा विभाजन गर्ने तागत कसैसँग नरहेको बताएका छन् । अध्यक्ष लिङ्देनले पार्टीभित्र हाल देखिएको विवादले पार्टी विभाजन नहुने स्पष्ट पारेका हुन् ।

विगतमा चित्त नबुझ्ने बित्तिकै पार्टी फुटाइहाल्ने प्रवृत्ति रहेको र त्यसको केही अवशेषहरू अझै भए पनि अब त्यो सम्भावना नरहेको उनको दाबी छ । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले भने, ‘यो पार्टीलाई मैले बारम्बार भनेको छु, विभाजन गर्ने कसैसँग तागत पनि छैन र विभाजन गर्नुपर्ने कुनै कारण पनि छैन । अब राप्रपा कहिल्यै विभाजित हुँदैन । अब राष्ट्रिय प्रजातन्त्र पार्टीमा यो लामो समयदेखि एउटा प्रवृत्ति थियो । जो चित्त नबुझ्ने बित्तिकै अर्को पार्टी खोलिहाल्ने, फुटाइहाल्ने त्यो चिज मेरो कार्यकालमा आएन र त्यो देखिने गरी केही भएको थिएन तर कहिलेकाहीँ त्यो प्रवृत्तिको अवशेष देखिने कोसिस गर्छ तर अब त्यो सम्भावना पनि छैन राप्रपामा र म यति नै भन्छु यो विषय चाहिँ हामी पार्टी मै बसेर टुङ्याउँछौँ ।’

उनले पार्टीभित्र देखिएका समस्या पार्टीभित्रै बसेर समाधान गर्ने पनि बताए । चित्त नबुझेका विषयहरू पार्टीका समितिहरूमा छलफल गर्ने र छलफलपछि निस्किएको निष्कर्षलाई सबैले मानेर जानुपर्ने उनले जिकिर गरे ।

पार्टीका समितिहरूमा आफ्ना कुरा पारित हुन नसके, चित्त नबुझे महाधिवेशनमा गएर नेतृत्वमाथि नै चुनौती दिन सकिने उनको भनाई छ । उनले भने, ‘बाहिर जो आइरहेको छ, यसलाई चाहिँ हामी पार्टीभित्रै बसेर समाधान पनि गर्छौँ । त्यो विवादका पार्टका रूपमा रहेका साथीहरूलाई पनि म आग्रह गर्छु । पार्टी भनेको समान विचारका मानिसहरूको अथवा विचार मिल्ने मानिसहरूको सङ्गठित संस्था हो । त्यसमा केही अनुशासन हुन्छ, केही पद्धतिहरू हुन्छन् । कमिटी प्रणाली हुन्छ । चित्त नबुझेका विषयहरू कमिटीमा छलफल गर्ने, छलफलपछि निस्किएको निष्कर्षलाई सबैले मानेर जाने, त्यसमा आफ्ना कुरा पारित हुन सकेन अल्पमतमा परियो चित्त बुझेन भने महाधिवेशनमा गएर टुङ्गो लगाउन सकिन्छ । नेतृत्वमाथि नै विश्वास भएन, नेतृत्वसँगै आफ्ना चित्त बुझेन भने नेतृत्वमाथि नै चुनौती दिने महाधिवेशनमा लाग्यो भने पनि पार्टीभित्र ती प्रक्रियाहरू खुल्ला हुन्छन् । तर पार्टीको आन्तरिक विषयहरू सञ्चारमाध्यममा लैजाने,शुभेच्छुकहरूमा भ्रम पार्ने जस्ता कामहरू गर्न अनुपयुक्त हुन्छ । सदाझैँ हामी यो समस्यालाई समाधान गरेर लान्छौ ।’

लिङ्देनले असन्तुष्ट पक्षहरूले अध्यक्षले विधान विपरीत काम गरेको भन्ने आरोपको खण्डन पनि गरे । पार्टीको विधानअनुसार नै जिम्मेवारीहरू हेरफेर गरिएको उनको दाबी छ । विधानले अध्यक्षलाई समितिहरू गठन गर्ने, जिम्मेवारीहरू बाँडफाँड गर्ने, पदाधिकारी तथा सदस्यहरूलाई जिम्मेवारीहरू तोक्ने, परिचालित गर्ने लगायतका सुविधा दिएको उनको भनाई छ ।

नेपाल जस्तो भूराजनीतिक परिस्थिति भएको देशको लागी अभिभावकीय संस्थाको रूपमा राजसंस्था उपयुक्त हुने बताए । राप्रपाले निरन्तर रूपमा राजसंस्थाको लागि आवाज उठाइराखेको भन्दै उनले पछिल्लो दिनमा राजसंस्थाको माहौल पनि बन्दै गइरहेको बताए । पछिल्लो समयमा राजसंस्थाको पक्षमा बनिरहेको परिवेश, जनमत सबैको पृष्ठभूमिलाई आधार मान्दा राजसंस्था पुनर्स्थापना निकटमा पुगेको उनको दाबी छ ।

उनले राजसंस्था पुनर्स्थापना पक्षधरहरू पनि एकजुट हुँदै गएको बताए । गत जेठ १५ गते राजसंस्था पक्षधरहरूले कार्यक्रमले पनि राजसंस्था चाहिन्छ भन्ने सबै शक्तिहरू एक ठाउँ उभिएको सङ्केत गरेको उनको दाबी त । उक्त कार्यक्रमले कुनै ठोस परिणाम नदिए पनि एउटा सकारात्मक सन्देश प्रवाह गर्न आफूहरू सफल भएको लिङ्देनको भनाई छ ।

राजसंस्था पक्षधरहरुबिच देखिएका कमीकमजोरीहरुलाई सच्याएर आगामी दिनमा अगाडी बढ्न सकिने उनले बताए । उनले पार्टीबाट कसैलाई निष्कासन नगरिएको पनि बताए ।

उनले भने, ‘अध्यक्षले मनोनीत गर्न पाउने जति पदहरू छ, त्यो हामीले परम्परागत रूपमा नै परिवर्तन गर्दै आइराखेको हो । विभागको प्रमुख तोक्ने, विभागको सदस्य सचिव तोक्ने, सदस्य तोक्ने भनेको अध्यक्षले नै हाम्रो पार्टीमा चाहिँ व्यवस्था छ । त्यही हामीले पहिलेदेखि गर्दै आएका छौँ । कसैलाई पार्टीबाट निकालिएको होइन, कारबाही गरिएको होइन ।’

उनले निर्वाचन आयोगमा उजुरी दिएकाहरूप्रति लक्षित गर्दै पार्टी भित्रको आन्तरिक विवाद हेर्ने निर्वाचन आयोगको कार्यक्षेत्र नै नभएको बताए । राप्रपाको प्रवक्ता, विभागको सदस्यसचिव, विभाग प्रमुख तोक्ने काम निर्वाचन आयोगको नभई अध्यक्षको भएको उनले बताए ।