एनसेललाई किस्ताबन्दी सुविधा दिनु गलत : राजेन्द्र लिङ्देन

 संवाददाता    २०८२, २४ श्रावण शुक्रबार १५:३१     234 जनाले पढ़िसके



Spread the love

सरकारले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेललाई लाइसेन्स नविकरण शुल्क बापत तिर्नुपर्ने रकम किस्ताकिस्तामा बुझाउन सक्ने सुविधा दिएकोप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष एवं सांसद राजेन्द्र लिङ्देनले असहमति जनाएका छन् ।

शुक्रबार सार्वजनिक लेखा समितिमा बेरुजुका बारेमा भएको छलफलमा एनसेल राज्यको नियन्त्रणमा आउन लागेका बेला किस्ताबन्दी सुविधा दिएर लुट मच्चाउन खोजिएको उनले आरोप लगाए । उनका अनुसार यस्तै लूटका कारण मुलुकमा भ्रष्टाचार चुलिँदै गएको छ भने बेरुजु पनि बढेर गएको छ ।

लिङ्देनले कर्मचारी तन्त्रलाई बिचौलियाहरूले कब्जामा लिने र सोही अनुसार सचिव मन्त्रीहरूले काम गर्ने, न्यायालयले समेत सोहीअनुसारका आदेशहरू दिँदै जाँदा आम जनतामा निराशा चरम रूपमा बढेर गएको छ ।

अध्यक्ष लिङ्देनले भने,‘एनसेलले सारा सम्पत्ति जिम्मा लगाएर जाने बेला भइसक्यो । हामी किस्ताबन्दी सुविधा दिइरहेका छौँ । कसको प्रभाव दियौँ, किन दियौँ, त्यही हो बेरुजु । बेरुजु त्यसै बढेको छैन, बिचौलिया व्यापारी, नेता, न्यायालयसम्मकै हात छ ।’

कर्मचारीको नेतृत्वले देशलाई केन्द्रलाई राखेर काम गर्छु भनेर काम गर्ने हो भने बेरुजु, भ्रष्टाचार कम हुनसक्ने अध्यक्ष लिङ्देनले बताए ।

बेरुजु नहुने वातावरण सिर्जना गर्ने गरी योजना बनाउन जरुरी रहेको उनको भनाई छ । पछिल्लो समय ठुलो अङ्कमा योजना राख्ने, निश्चित कम्पनीलाई प्रतिस्पर्धा बेगर जिम्मा दिने प्रवृत्ति देशमा मौलाएको भन्दै लिङ्देनले त्यो प्रवृत्तिले देशलाई हित नगर्ने समेत प्रस्ट पारे ।