सरकारले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेललाई लाइसेन्स नविकरण शुल्क बापत तिर्नुपर्ने रकम किस्ताकिस्तामा बुझाउन सक्ने सुविधा दिएकोप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष एवं सांसद राजेन्द्र लिङ्देनले असहमति जनाएका छन् ।
शुक्रबार सार्वजनिक लेखा समितिमा बेरुजुका बारेमा भएको छलफलमा एनसेल राज्यको नियन्त्रणमा आउन लागेका बेला किस्ताबन्दी सुविधा दिएर लुट मच्चाउन खोजिएको उनले आरोप लगाए । उनका अनुसार यस्तै लूटका कारण मुलुकमा भ्रष्टाचार चुलिँदै गएको छ भने बेरुजु पनि बढेर गएको छ ।
लिङ्देनले कर्मचारी तन्त्रलाई बिचौलियाहरूले कब्जामा लिने र सोही अनुसार सचिव मन्त्रीहरूले काम गर्ने, न्यायालयले समेत सोहीअनुसारका आदेशहरू दिँदै जाँदा आम जनतामा निराशा चरम रूपमा बढेर गएको छ ।
अध्यक्ष लिङ्देनले भने,‘एनसेलले सारा सम्पत्ति जिम्मा लगाएर जाने बेला भइसक्यो । हामी किस्ताबन्दी सुविधा दिइरहेका छौँ । कसको प्रभाव दियौँ, किन दियौँ, त्यही हो बेरुजु । बेरुजु त्यसै बढेको छैन, बिचौलिया व्यापारी, नेता, न्यायालयसम्मकै हात छ ।’
कर्मचारीको नेतृत्वले देशलाई केन्द्रलाई राखेर काम गर्छु भनेर काम गर्ने हो भने बेरुजु, भ्रष्टाचार कम हुनसक्ने अध्यक्ष लिङ्देनले बताए ।
बेरुजु नहुने वातावरण सिर्जना गर्ने गरी योजना बनाउन जरुरी रहेको उनको भनाई छ । पछिल्लो समय ठुलो अङ्कमा योजना राख्ने, निश्चित कम्पनीलाई प्रतिस्पर्धा बेगर जिम्मा दिने प्रवृत्ति देशमा मौलाएको भन्दै लिङ्देनले त्यो प्रवृत्तिले देशलाई हित नगर्ने समेत प्रस्ट पारे ।