इजरायलको मन्त्रिपरिषद्ले गाजामाथि नियन्त्रण योजनालाई दियो मन्जुरी

 संवाददाता    २०८२, २४ श्रावण शुक्रबार १३:४६     225 जनाले पढ़िसके



Spread the love

इजरायलको सुरक्षा मन्त्रिपरिषद्ले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको गाजालाई नियन्त्रण लिने योजनालाई अनुमोदन गरेको छ । शुक्रबार बिहानको बैठकमा मन्त्रिपरिषद्ले यो मन्जुरी दिएको हो । प्रधानमन्त्री नेतान्याहूको कार्यालयले यस विषयमा एउटा विज्ञप्ति जारी गरेको छ ।

यसमा गाजामाथि पूर्ण कब्जा जमाउने स्वीकृत योजना र युद्ध अन्त्य गर्ने पाँच बुँदाका विवरण छ । मन्त्रिपरिषद्ले यसलाई बहुमतले पारित गरेको खबर आएको छ । इजरायली रक्षा बल (आईडीएफ) ले युद्ध क्षेत्र बाहिरका नागरिक जनसङ्ख्यालाई मानवीय सहायता प्रदान गर्दै गाजाको नियन्त्रण लिन तयारी गर्नेछ र युद्ध अन्त्य गर्ने पाँच बुँदामा काम गर्ने विज्ञप्तिमा भनिएको छ ।

यी पाँच बुँदाहरू हमासको निःशस्त्रीकरण, मृत र जीवित सबै बन्धकहरूको फिर्ती, गाजाको निःशस्त्रीकरण, गाजामाथि इजरायलको सुरक्षा नियन्त्रण, हमास र प्यालेस्टिनी प्राधिकरणमुक्त वैकल्पिक नागरिक सरकार रहेको छ । नेतान्याहूले बिहीबार फक्स न्युजसँगको कुराकानीमा आफूहरूले सम्पूर्ण गाजामाथि नियन्त्रण चाहेको बताएका थिए ।