नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले निर्माणाधीन नयाँ संसद् भवनको काम समयमै सम्पन्न गर्न दुई चरणमा काम गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।
आज सिंहदरबारमा बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन तथा मूल्याङ्कन समितिको बैठकमा बोल्दै उनले यस्तो धारणा राखेका हुन् ।
उनले असार १७ देखि साउन १५ सम्मको प्रगति ३।३० प्रतिशत मात्रै रहेकाले त्यो कति सन्तोषजनक हो ? भन्दै प्रश्न उठाए । उनले पहिलादेखि नै काम सम्पन्न गर्ने भनेपनि समयमा काम नसकिरहेको बताइ। समय मात्रै थप गर्ने कुराले अझै पनि समयमै काम सम्पन्न हुनेमा आशङ्का बढेको उनले बताए ।
प्रमुख सचेतक पाण्डेले के गर्दा सरकारलाई सहयोग हुन्छ त्यो काम मात्र गर्न संसदीय समिति सचेत रहेको आरोप लगाए ।